भरतपुर – हानामी अन्तर विद्यालय फुटबलको उपाधि वाल्मिकी शिक्षा सदनले जितेको छ । भरतपुर १० स्थित गेष्ट हाउस चौरमा आज (शनिबार) सम्पन्न फाइनलमा ब्राइटस्टारलाई २-० ले पाखा लगाउँदै वाल्मोकी च्याम्पियन बनेको हो ।
वाल्मिकीको जितमा दुबै गोल कप्तान विवेक शाहीले गरे । वाल्मिकीले पहिलो हाफको अतिरिक्त समयमा अग्रता लियो । एलेक्स गुरुङको कर्नरमा कप्तान विवेक शाहीले हेडर गोल गर्दै वाल्मिकीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए ।
दोस्रो हाफमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वाल्मिकीलाई २-० को अग्रता दिलाए। यसपटक उनले फ्रीकिकमा सुन्दर गोल गरे । ब्राइटस्टारले पनि खेलमा पाएको मौका सदुपयोग गर्न नसक्दा हार टार्न सकेन । ब्राइटस्टारका रोहन परियार म्यान अफ दि म्याच भए ।
विजेता बनेको वाल्मिकीले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । यस्तै उपविजेतामा सीमित ब्राइटस्टारले १० हजारसहित ट्रफी प्राप्त गरेको छ ।
विधागत उत्कृष्टमा पनि वाल्मिकी हाबी भयो । वाल्मिकीका कप्तान विवेक शाही प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै वाल्मिकीकै जेनिश केसी उत्कृष्ट गोलरक्षक, विपिन पराजुली उत्कृष्ट डिफेन्डर र प्रतियोगिताभर ६ गोल गरेका ब्राइटस्टारका कप्तान मनिक आले मगर सर्वाधिक गोलकर्ता बने । ग्रीनल्याण्ड पब्लिक स्कुलले फेयर प्ले ट्रफी प्राप्त गर्यो।
भरतपुर फुटबल क्लब र यात्रा ग्रुप भरतपुरको आयोजनामा भएको प्रतियोगितामा चितवन र पर्साका गरि २१ टोली सहभागी थिए ।