भरतपुर । ग्रीन ल्याण्ड पब्लिक स्कुल भरतपुरमा जारी हानामी अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) सम्पन्न खेलमा उत्कृष्ट कमब्याक जित हात पार्दै ग्रीनल्याण्डले सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलमा २-० ले पछि परेको अवस्थाबाट ग्रीनल्याणले ४-२ को जित निकाल्यो । ग्रीनल्याण्डको जितमा लियोन गुरुङले दुई तथा स्वरुप गुरुङ र इनोक गुरुङले एक-एक गोल गरे । सनराइजका उज्ज्वल पटेल र आर्यन थापाले एक-एक गोल गरे ।
रोमाञ्चक खेलमा अग्रता भने सनराइजले लिएको थियो । पहिलो हाफको १४ औं मिनेटमा आर्यनले गोल गर्दै सनराइजलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको चौथो मिनेटमा उज्ज्वलले गोल गर्दै सनराइजलाई दोहोरो अग्रता दिलाए ।
तर २-० ले पछि परेको अवस्थाबाट ग्रीनल्याण्डले कमब्याक गर्यो । दोस्रो हाफको छैटौं मिनेटमा ग्रीनल्याण्डका स्वरुपले गोल गरे । लगत्तै आठौं मिनेटमा इनोकले गोल गर्दै ग्रीनल्याण्डलाई खेलमा फर्काउने संकेत गरे । त्यपछि १७ औं र १८ औं मिनेटमा लियोनले लगातार दुई गोल गर्दै ग्रीनल्याण्डलाई उत्कृष्ट कमब्याक जित दिलाए । लियोन नै म्यान अफ दि म्याच ।
ग्रीनल्याण्डले अब फाइनल प्रवेशका लागि शुक्रबार वाल्मिकी शिक्षा सदनसँग खेल्नेछ । वाल्मिकी आदर्श पब्लिक स्कुललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
त्यस अघि आजको पहिलो खेलमा कालिका स्कुलले श्री जनप्रिय स्कुललाई पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा कालिकाले जनप्रियलाई टाइब्रेकरमा ४-२ ले निराश बनायो ।
त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो ।
दोस्रो हाफको २० औं मिनेटमा क्षितिज महतोले गोल गर्दै कालिकालाई अग्रता दिलाएका थिए । तर २३ औं मिनेटमा कप्तान सतिश रानाले गोल गर्दै जनप्रियलाई खेलमा फर्काए पनि टाइब्रेकरमा हार टार्न सकेन । जनप्रियका कप्तान सतिश म्यान अफ दि म्याच चुनिए ।
कालिकाले अब सेमिफाइनल प्रवेशका लागि ब्राइटस्टारको सामना गर्नेछ । खेल बिहीबार दिउँसो ४ बजे हुनेछ । भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । रासस