भरतपुर – ब्राइट स्टार आवासिय मावि र वाल्मिकी शिक्षा सदनले भरतपुरमा जारी हानामी अन्तर विद्यालय फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।
आज सम्पन्न पहिलो खेलमा ब्राइट स्टारले मुनलाइट स्कुल वीरगन्जविरुद्ध उत्कृष्ट पुनरागमन जित हात पार्यो । २ गोलले पछि परेको ब्राइट स्टारले पुनरागमन गर्दै मुनलाइटलाई सडन डेथमा स्तब्ध बनायो ।
खेलमा मुनलाइटले सुरुवाती अग्रता लिएको थियो । लभ गोसाईले खेलको १९ औं मिनेटमा गोल गर्दै मुनलाइटलाई अग्रता दिलाएका थिए । लगत्तै २० औं मिनेटमा एलेक्स तामाङले गोल गर्दै मुनलाइटको अग्रता दिलाएका थिए ।
पहिलो हाफमा २ गोलले पछि परेको ब्राइटस्टार दोस्रो हाफमा खेलमा फर्कियो । उसका लागि कप्तान मनिक आले मगर र रोहन परियारले गोल गरे । निर्धारित समयमा २-२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलियो । तर टाइब्रेकरमा पनि ४-४ को बराबरीपछि सडन डेथमा ब्राइटस्टारले बाजी मार्यो । ब्राइटस्टारका रोहन म्यान अद दि म्याच भए ।
आजको दोस्रो खेलमा वाल्मिकीले आदर्श पब्लिक स्कुललाई २-१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाएको छ । वाल्मिकीको जितमा एलेक्स सरोज गुरुङ र अभय खरेलले गोल गरे । आदर्शका मन्जिल थापाले गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै एलेक्सले गोल गर्दै वाल्मिकीलाई अग्रता दिलाए । १० औं मिनेटमा अभयले वाल्मिकीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ११ औं मिनेटमा मन्जिलले गोल गरे पनि आदर्शको हार टार्न सकेनन् । वाल्मिकीका विवेक शाही म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा होली भिजन स्लुल र स्काई राइडर दिउँसो ४ बजे भिड्नेछन् । यस्तै दोस्रो खेलमा ५ बजे सनराइज स्कुल र ग्राण्डी स्कुल भिड्नेछन् ।
भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।