भरतपुर – भरतपुरमा बुधबारदेखि सुरु हुने हानामी अन्तरविद्यालय फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
आयोजक भरतपुर फुटबल क्लब र यात्रा ग्रुपले जेठ २४ देखि असार २ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगितामा २१ टोली सहभागी हुने भएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको संयोजक धुर्व भुसालले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा बुधवार वाल्मिकी शिक्षा सदन र पोलार स्टार एकेडेमी भिड्नेछन् । खेल अपरान्ह ४ बजे सुरु हुनेछ । यस्तै बुधवार नै दोस्रो खेलमा ५ बजे भानु मेमोरियल स्कुल र होली भिजन भिड्नेछन् । प्रतियोगिताका खेलहरु भरतपुर १० स्थित गेष्ठ हाउस चौरमा हुनेछन् ।
प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । विद्यालय स्तरदेखि नै खेलाडी पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको सह संयोजक कृष्ण कार्कीले बताए ।
हानामी इन्टरनेशल एजुकेसन प्रतियोगिताको मुख्य प्रायोजक हो भने प्रायोजकमा रियल ड्रिम्स कन्सल्टेन्सी, गोरेटो कन्सल्टेन्सी, राइट एण्ड एसोसिएट्स, मेट्स एजुकेसन र माडी ज्वेलर्स रहेका छन् । चितवन जिल्ला फुटबल संघ र भरतपुर महानगरपालिका १० प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।