चितवन । चितवनका चिकित्सकहरुले सूर्तीजन्य सेवनकर्ताहरु बढ्दै गएको बताउनु भएको छ । यसका प्रयोगकर्ताको अनुपात बर्षेनी बढ्दै गईरहेको उहांँहरुको भनाई छ ।
आज विश्व सूर्तीजन्य रहित दिवसको अवसरमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सूर्तीजन्य प्रयोगकर्ता न्यूनिकरणमा चुनौति थपिएको बताउनु भएको हो ।
सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले सूर्तीजन्य प्रयोग कर्ता विश्वभर मात्र नभई नेपालमा पनि बढ्दै गएको बताउनु भयो । ‘सूर्तीजन्य पदार्थ प्रयोग गर्ने संख्या किशोर– किशोरी युवा–युवतीको संख्या बढ्दै गएको पाएका छौं उहांँले भन्नुभयो, यो समस्या समाजको लागि मात्र नभई देशको लागिनै चुनौति बनेको छ ।’ नेपालमा क्यान्सरको उपचार सहज हुंँदै गएपनि प्रयोगकर्तामा कमी भने नआएको उहांँको भनाई छ ।
अस्पतालका कार्यवहाक कार्यकारी निर्देशक डाक्टर कृष्णसागर शर्माले सरकारले यसको नीति कार्यन्वयनमा कडाई नगरेकोले पनि सूर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको बताउनु भयो । जसका कारण पछिल्लो समय अस्पतालमा फोक्सोका क्यान्सर र मुखका क्यान्सरका बिरामी अस्पतालमा बढी आएको उहांँले जानकारी दिनुभयो । यसको न्यूनिकरणका लागि सचेतना एवं निरुत्साही गर्ने योजना तीनै तहका सरकारले ल्याउनु पर्ने उहांँले धारणा राख्नुभयो । विश्वमा प्रत्येक बर्ष दुईसय हेक्टर जमीन सुर्तीजन्य खेतीको लागि थपिएको भन्दै भविष्यमा यसको असर खाद्य संकटमा पर्ने उहांँको भनाई छ ।
अस्पतालकी अर्का डाक्टर अस्मिता रानाले प्रस्तुतिकरण दिँदै नेपालमा सूर्तीजन्य पदार्थको शिकारमा ३८ लाख नागरिक परेको बताउनु भयो । ‘हामीले क्यान्सर विरामीलाई वर्गीकरण तीन चरणमा गरेका छौं । पहिलो प्रत्यक्ष सेवन गर्ने, दोस्रो प्रत्यक्ष सेवनकर्ताको नजिक बस्ने र तेस्रो चरण सूर्तीजन्य पदार्थ प्रयोग गरेको स्थान अन्य व्यक्तिले प्रयोग गर्नु ।’ उहांँले भन्नुभयो । उहांँले सूर्तीजन्य प्रयोग बृद्धिमा चुनौति रहेको भन्दै हरेक १० वटा क्यान्सर रोगमध्ये ९ वटा सूर्तीजन्य पदार्थको प्रयोगले भएको जानकारी दिनुभयो । सूर्तीजन्य पदार्थको प्रयोगको फजुल खर्चसंँगै क्यान्सर उपचार खर्च गुणात्मक रुपमा बढी हुने गरेको उहांँको भनाई थियो ।
हरेक बर्षक ३१ मे मा विश्व सूर्तीजन्य रहित दिवस मनाईदै आएको छ । यसैक्रममा चितवनमा पनि ‘खाना चाहियो, सूर्तीजन्य पदार्थ चाहिएन’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व सूर्तीजन्य रहित दिवस मनाईएको छ ।