चितवन । वन्यजन्तु शिकार आरोपमा चितवनमा दुई भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ६ का राज चेपाङ्ग र वडा नम्बर ११ का सुन्दर प्रजा रहेका छन । चेपाङ्ग सोही दिन रत्ननगरनगरपालिका वडा नम्बर ६ बाट र प्रजालाई जेठ १४ गते घरबाट प्रकाउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जले दिएको जानकारी अनुसार जेठ १३ गते बन्दुक सहित वन्यजन्तु शिकार गर्न निकुञ्ज क्षेत्रमा पस्न लागेको बिशेष सूचनाको आधारमा अपरान्ह सांँढे ४ बजे निकुञ्ज सुरक्षार्थ खड्गदलबाट खटिएका अप्रेशन टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट दुईथान भरुवा बन्दुक बरामद गरी हातहतियार तथा खरखजाना मुद्धाको बिषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाईएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । साथै उनीहरुमाथि वन्यजन्तु कसुर सम्बन्धी अनुसन्धान निकुञ्ज कार्यालयबाट भईरहेको छ ।