भरतपुर – भरतपुर महानगरपालिका १२ मा जारी अन्तर टोलस्तरीय नाकआउट फुटबलमा आज दुई खेल सम्पन्न भएका छन् ।
आज सम्पन्न पहिलो खेलमा आनन्द टोलले कस्तुरी टोललाई पराजित गर्यो । आनन्दले कस्तुरीलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । विजयी टोलीका शिव थापा मगर म्यान अद दि म्याच चुनिए ।
यस्तै आजै सम्पन्न दोस्रो खेलमा गैरीगाउँ टोलले सुनगाभा टोललाई २-० ले पाखा लगायो । गैरीगाउँका लागि उत्कृष्ट प्रदर्शन गरेका सुजन परियार म्यान अद दि म्याच घोषित भए ।
प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ बजे सेन्ट्रल टाउन टोल र दीपेन्द्र टोल भिड्नेछन् । यस्तै दोस्रो खेलमा दिउँसो ४:१५ बजे नौरङ्गे टोल र बसन्तचोक टोल भिड्ने वडा खेलकुद बिकास समिति भरतपुर १२ का उपाध्यक्ष कृष्ण कार्कीले बताए ।
१८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने कार्कीले बताए । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।