सूर्यप्रसाद अधिकारी, चितवन । २०७९ चैत्रमा सार्वजनिक गरिएको नेपालको १२ औं जनगणना अनुुसार चितवन जनसंख्या बृद्धिदरमा देशकै तेस्रो स्थानमा रहेको पाईएको छ । तथ्यांक कार्यालय, चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरेको थियो । कार्यालयका तथ्यांक अधिकृत यज्ञमुर्ति भण्डारीले प्रस्तुतीकरण गर्दै उक्त तथ्यांंक सार्वजनिक गरेका हुन् । जस अनुसार भक्तपुरको जनसंख्या बृद्धिदर पहिलो स्थानमा रहेको छ ।
भक्तपुरमा गरिएको २०६८ जनगणनाको तुलनामा २०७८मा गरिएको जनगणनामा बार्षिक बृद्धिदर ३ दशमलब ३५ प्रतिशत बृद्धि भएको पाईएको छ । दोस्रो स्थानमा रुपन्देही जिल्ला रहेको छ । रुपन्देही जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर २ दशमलब ३३ प्रतिशत रहेको छ भने चितवनको बार्षिक जनसंख्या बृद्धिदर २ दशमलब शुन्य ७ रहेको छ ।
तथ्यांक अनुसार २०६८ को जनगणनामा भक्तपुरको जनसंख्या ३ लाख ४ हजार ६५१ जना,रहेकोमा २०७८ मा बृद्धि भई ४ लाख ३२ हजार १३२ जना रहेका छन । यस्तै रुपन्देहीमा २०६८ सालमा ८ लाख ८० हजार १९६ जनसंख्या रहेकोमा २०७८ मा बृद्धि भई ११लाख २१ हजार ९५७ र चितवनमा २०६८ सालमा गरिएको जनगणना अनुसार ५ लाख ७९ हजार ९८४ रहेकोमा २०७८ सालमा गरिएको जनगणनामा बृद्धि भई ७ लाख १९ हजार ८५९ पुगेको छ ।
तथ्यांक अधिकृत भण्डारीले जनसंख्या बृद्धिदर हुनु बसाईसराई मुख्य कारण रहेको बताए । ‘चितवन देशकै केन्द्र र पछिल्लो समय यहांँ शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि उत्पादन पनि बढ्दै गएको छ , उनले भने , रुपन्देही र भक्तपुरको हकमा त्यहां भएका संभावना र सेवा सुविधानै हुन् ।’
तेस्रो धेरै जनसंख्या भरतपुर महानगरपालिकामा
२०७८को जनगणना अनुसार देशकै पालिकाहरुमध्ये तेस्रो बढी जनसंख्या भरतपुर महानगरपालिकामा रहेको पाईएको छ । तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा हालको जनसंख्या ३ लाख ६९ हजार २६८ रहेको छ । यस्तै दोस्रो सबैभन्दा बढी पोखरा महानगरपालिकाको जनसंख्या ५लाख १३ हजार ५०४ रहेको छ भने पहिलो स्थानमा काठमाडौं महानगरपालिका रहेको छ । हालको जनसंख्या अनुसार काठमाडौ महानगरपालिकामा ८ लाख ६२ हजार ४०० रहेका छन ।
देशकै केन्द्र चितवन र चितवनको केन्द्र भरतपुर रहेको हुनाले पनि यहांँको जनसंख्यामा बृद्धि भएको भण्डारीको भनाई छ । ‘भरतपुर आर्थिक, सामाजिक, भौगोलिक सबै कुराले उत्तम छ, भण्डारीले भने, भ काठमाडौं राजधानी भएको हिसावले र पोखरा पर्यटकीय क्षेत्र र अनुकुल बसोबास रहेको कारण पनि जनसंख्या बृद्धि भएको हुनसक्छ ।’