चितवन । भरतपुर महानगरपालिका १२ मा आजदेखि अन्तर टोलस्तरीय नाकआउट फुटबल सुरु भएको छ ।
वडा खेलकुद बिकास समिति भरतपुर १२ को आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरे ।
प्रतियोगिताको पहिलो दिन आज दुई खेल सम्पन्न भएका छन् । रामवेल सामुदायिक वनको मैदानमा भएको पहिलो खेलमा कालिका टोलले पोख्रेली टोललाई टाइब्रेकरमा पराजित गर्यो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको हो । टाइब्रेकरमा कालिका टोल २-१ ले विजयी भयो । कालिकाका सन्जय श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
यस्तै आजै सम्पन्न दोस्रो खेलमा सहयोगी टोलले राधाकृष्ण टोललाई ३-१ ले निराश बनायो । सहयोगी टोललाई जिताउन दुई गोल गरेका मौसम दराई म्याम अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ बजे आनन्द टोल र कस्तुरी टोल भिड्नेछन् । यस्तै दोस्रो खेलमा दिउँसो ४:१५ बजे गौरीगाउँ टोल र सुनगाभा टोल भिड्ने वडा खेलकुद बिकास समिति भरतपुर १२ का उपाध्यक्ष कृष्ण कार्कीले बताए ।
१८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने कार्कीले बताए । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।