चितवन । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निस्शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको छ ।
नवनियुक्त स्वास्थ्यमन्त्री जोशीले पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निस्शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाहरुको ज्यान जाने जोखिम कम गर्न यस्तो निर्णय गरेको बताउनुभयो ।
आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्ने उहाँको भनाइ छ । यस्तै स्वास्थ्य मन्त्री नियुक्त भएपछि उहाँले चितवन आएर विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको विपि कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको छ । जोशी आइतबार कांग्रेसबाट बागमती प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।