सूर्यप्रसाद अधिकारी,चितवन । चालु आर्थिक बर्ष ०७९,०८०को १० महिनामा सवारी दुर्घटनाबाट चितनवनमा ६२ जनाको मृत्यु भएको छ भने ४६० जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार चालु आव ०७९,८०को असार देखि बैशाख सम्म २५३ वटा सवारी दुर्घटना भएका थिए ।
सबैभन्दा बढी मृत्यु भित्री सडकमा कम शहरी सडकमा
कार्यालयले दिएको तथ्यांक अनुसार सो अवधिमा भएका सवारी दुर्घटनामा भएका मृत्यु मध्ये सबैभन्दा बढी भित्री सडकमा भएको पाईएको छ । जसअनुसार १० महिनामा भित्री सडकबाट भएको दुर्घटनाबाट २७ जनाको मृत्यु भएको थियो । सो अवधिमा भित्री सडकमा सवारी दुर्घटनाबाट १८५ जना घाईते भएका थिए ।
तथ्यांक अनुसार पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु भएको थियो भने ९७ जना घाईते भएका थिए । यस्तै नारायणगढ मुग्लिन सडकमा भएको दुर्घटनामा १० जनाको मृत्यु, १०९ जना घाईते, पृथ्वीराजमार्ग भएका सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु, ५० जना घाईते र सबैभन्दा कम शहरी सडकखण्डमा ३ जनाको मृत्यु र १३ जना घाईते भएका छन । कार्यालयका अनुसार सो अवधिमा भित्रीसडकखण्डमा १२० वटा सवारीसाधन, पूर्वपश्चिम लोकमार्गमा ५७ वटा , पृथ्वीराजमार्गमा १८ वटा , नारायणगढ मुग्लिनसडमा ४५ वटा र शहरीखण्डमा १३ वटा सवारी साधन दुर्घटना भएका थिए ।
कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ्गले चितवनका भित्री सडकमा चालकले लापरवाही तरीकाले सवारीसाधन चलाउनाले तुलनात्मक रुपमा भित्री सडकमा दुर्घटना संँगै मानवीय क्षति भएको बताउनु भयो । ’चितवनका अहिले मुख्यसडकभन्दा भित्रीसडक खुल्ला, व्यस्थित छ । जसले गर्दा चालकले तीब्रगतिमा सवारी चलाउंँछन , तामाङ्गले भन्नुभयो, अर्कोकुरा भित्रीसडकमा ट्राफिक प्रहरीको पहुंँचपनि कम छ ।’ भित्री सडकमा दुर्घटना बढेपछि पछिल्लो समय त्यस्ता सडकहरुमा ट्राफिक चेकिङ्ग बढी गरिदैं लगिएको उहांँले बताउनु भयो ।
शहरीसडकमा चालक बढी सचेत भएको पाईएको र भित्री सडकमा लापरवाही र मापसे समेत गरेको पाईएकोले सवारी दुर्घटना बढेको उहांँको भनाई छ । गतबर्षभन्दा यो चालु आर्थिक बर्षमा दुर्घटनाको दर भने घटेको उहाँले बताउनु भयो । ‘चितवनमा लाइसेन्स वितरण भएपछि दुर्घटनापनि केही घटेको र चालक अलिबढी सचेत भएको पनि पाएका छौं ।’ ट्राफिक प्रहरी प्रमुख तामाङ्गले भन्नुभयो ।