दाङ ।लामो समय आफुले पालेको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले भालेको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेर काजकिरिया गरेका छन्। उक्त भालेलाई १९ वर्ष १० महिना पालेका तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवा निवासी शिव सुवेदीले भालेको धार्मिक विधिपूर्वक अन्तिम संस्कार गरेका हुन् ।
भालेको दाहसंस्कार गर्न सिङ्गो गाउँबासी मलामी नै गए । आफुले माया गरेर लामो समय पालेको भाले मरेपछि उनी शोकमा नै डुबे । हिन्दु परम्परा अनुसार सुवेदीले भाले मरेपछि कपाल फाले र नुन पनि छाडे । सुवेदीले मानिस मरेपछि गरिने धार्मिक विधि भाले मर्दा पनि पुर्याए । भाले मरेपछि सेतो कपडा लगाएर काजकिरिया पनि गरे ।
भाले साउन १६ गते मरेको थियो। भाले मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले बताए। ‘भाले २० वर्ष बाँच्यो, त्यो भालेलाई हामीले परिवारका सदस्यजस्तै मानेर पाल्यौँ,’ उनले थपे, ‘त्यसैले गाउँका सबैको सल्लाहअनुसार नै दाहसंस्कार गर्यौँ।’ सुवेदीले भाले मरेपछि गाउँका २०–२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको बताए।