चितवन । चितवनमा राष्ट्रिय औद्योगिक सर्वेक्षण सम्बन्धि अन्तरक्रिया गरिएको छ । आज भरतपुरमा राष्ट्रिय तथ्यांक कार्यालयको आयोजना र तथ्यांक कार्यालय, चितवनको समन्वयमा उक्त अन्तरक्रिया गरिएको हो । सरकारलाई नीति तथा कार्यक्रम बनाउन, अनुसन्धानकर्ता र योजनाविदलाई सहज बनाउने उद्धेश्य सहित सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख, निर्देशक , कर्मचारी, तथ्यांक कार्यालय, चितवनका प्रमुख एवं कर्मचारी र नीजि क्षेत्रका छाता संगठनका प्रमुख तथा पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजेश धितालले सर्वेक्षणसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उनले सर्वेक्षणका प्रमुख नतिजाहरु, गणना विधिका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा बोल्दै धितालले सरकारलाई औद्योगिक नीति तथा योजनाविद र अनुसन्धानकर्तालाई पनि सर्वेक्षणले सहयोग पुग्ने हेतुले औद्योगिक सर्वेक्षण गरिएको बताए । उनले औद्योगिक क्षेत्रको उत्पादन, संख्या, रोजगारी संख्या र कुल ग्राहस्थ उत्पादनमा योगदान लगायतका बिषयमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा सहभागीहरुले औद्योगिक सर्वेक्षण सुक्ष्म रुपमा तथ्यांक संकलन नगरिएपनि स्याम्पलिङ्ग विधिबाट गरिएपनि नीजि क्षेत्रलाई उपलब्धिमुलक हुने बताए । उनीहरुले बस्तु तथा सेवा, उद्योग धन्दाका लागि चाहिने कच्चा पदार्थको आयात निर्यात एवं उद्योगहरु विस्थापित हुनुको कारण पनि सर्वेक्षणमा समेटिनुपर्नेमा जोड दिएका थिए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस सर्वेक्षणबाट सरकारलाई नीति तथा कार्यक्रम बनाउन, शुशासन कायम गर्न यी तथ्यांक आवश्यक रहने बताए । आगामी बर्षमा गणना एवं सर्वेक्षण गर्दा उद्योगी व्यवसायीलाई चाहिने सुचांक अनुसार सर्वेक्षण गर्नु पर्ने उनको भनाई छ । पछिल्लो समय औद्योगिक सुचांकहरु परिवर्तन हुंँदै आएको भन्दै सञ्चालित उद्योगका मात्र नभई रुघ्ण उद्योगहरुको तथ्यांक पनि समेटिनुपर्ने उनले बताए ।
चितवन उद्योग संघका उपाध्यक्ष युवराज वस्तीले तथ्यांक कार्यालयले सामाजिक तथ्यांक संकलन संँगै औद्योगिक सर्वेक्षण समेत शुरु गरेकोले यसको गहिरार्ईमा पुग्न सुझाव दिए । उनले सरकार नीतिका साथै उद्योगमैत्री सुचकांक तयार पार्नुपर्ने, उद्योगमा काम गर्ने कर्मचारी एवं कामदारको प्रकृति, क्षमता, लिंग , उमेरसमुह लगायतका विषय समेट्नु पर्नेमा जोड दिए ।
अन्तरक्रियाको प्रतिक्रियाको जवाफ दिदैं कार्यालयका अर्का निर्देशक किरणशरण आचार्यले यो सर्वेक्षण सारांश मात्र भएको बताए । सबै सुचक र सुक्षम गणना गर्दा जनशक्ति , खर्च र समय थप लाग्ने भएकोले छनौट एवं सर्वेक्षण विधि अपनाईएको बताए । यस सर्वेक्षणमा औद्योगिक क्षेत्रका ४ वटा मात्र विषय समेटिएर सर्वेक्षण गरिएको बताए । यस सर्वेक्षणमा कृषि क्षेत्र तथा होलसेल तथा रिटेलिङ्ग सम्बन्धि उद्योगलाई नसमेटिएको उनले जानकारी दिए ।
कार्यालयका प्रमुख डिल्लीराम जोशीले सामाजिक गणना भन्दा औद्योगिक गणना गर्न चुनौति रहेको बताए । उनले यो सर्वेक्षणमा उद्योगका ४ वटा सेक्टर मात्र समेटिएको भन्द आगामी सर्वेक्षणमा होटल तथा रेष्टुरेण्टलाई पनि समेटिने बताए ।
चितवन देशकै केन्द्रविन्दु र आर्थिक हब भएका कारण यो अन्तरक्रिया यहांँ आयोजना गरिएको तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले बताए ।
ठूला उद्योगहरुको तथ्यांक संकलनलाई औद्योगिक गणना भनिन्छ भने साना उद्योगहरुको प्रतिनिधिमुलक तथ्यांक संकलनलाई औद्योगिक सर्वेक्षण भनिन्छ । यो गणना आर्थिक बर्ष ०७५÷०७६ मा संकलन गरिएको सर्वेक्षण हो । कोरोनाका कारण सर्वेक्षण सम्बन्धि काम केही महिना रोकिएको कारण सर्वेक्षण नतिजा ढिला सार्वजनिक गरिएको हो । कार्यालयले सातैप्रदेशका औद्योगिक सर्वेक्षणको नतिजा सार्वजनिक गरी देशभरनै सरोकारवाला संँग राय सुझाव संकलन गरिरहेको छ ।