चितवन । वाग्मती प्रदेश क्रिकेट संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा चितवनमा भरतपुर मेयरकप वाग्मती प्रदेश अन्डर १६ क्रिकेट छनौट प्रतियोगिता हुने भएको छ ।
निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा प्रतियोगिता यही बैशाख ४ गते (भोलि) देखि बैशाख ७ गतेसम्म संचालन हुने भएको हो । प्रतियोगितामा नेपाल क्रिकेट संघले मान्यता दिएका ६ जिल्ला टिमको सहभागीता रहने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
काठमाडौं, भक्तपुर र मकवानपुर समुह ‘ए’मा छन् भने ललितपुर, चितवन र नुवाकोट समुह ‘बी मा छन् । प्रतियोगिता लिगका आधारमा खेलाइनेछ । दुई समुहबीचका समुह बिजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेष्ट ब्याटर र बेष्ट बलरलाई गिफ्ट ह्याम्परको व्यवस्था गरिएको वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले बताउनुभयो । म्यान अफ म्याचको उपहार सौजन्य मन्च टाइम क्याफेले गर्नेछ । यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै वाग्मती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित कुल ८ लाख खर्च हुने चितवन जिल्ला क्रिकेट संघका सचिव उमेश पियाले बताए । जिल्लामा क्रिकेट गतिविधि कम हुँदै गएकाले पनि यस किसिमको प्रतियोगिताले क्रिकेट क्षेत्रको प्रर्वद्धन हुने उनको भनाई छ । उद्घाटन खेलमा भोलि काठमाडौं र भक्तपुर बिहान ८ बजे आमनेसामने हुनेछन् । प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्ने आयोजकले जनाएको छ ।