चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा ( बच्चा) मृत फेला परेका छन । अन्दाजी ७ महिनाको पोथी गैंडा (केटी) र ६ महिनाको भाले गैंडा (केटो) मृत अवस्थामा फेला परेको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले सोमबार मध्यान्ह तिर ती गैंडा फरक फरक स्थानमा मृत भेटिएको जानकारी दिए । उनका अनुसार निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत मर्दी घोल स्थित कोर क्षेत्रमा पर्ने नारायणी नदिको भङ्गालो निर मध्यान्ह १२ः३० पोथी गैंडा मृत अवस्थामा भेटिएको र निकुञ्जको बगई माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पर्ने काँस घारीमा (माडी नगरपालिका वडा नम्बर.९) दिउसो १ः२० बजे भाले गैंडा मृत अवस्थामा भेटिएको थियो ।
पोथी गैंडा भाले गैंडाको आक्रमणबाट मृत्यु भएको र भाले गैंडा बाघको आक्रमणबाट मरेको तिवारीले जानकारी दिनुभयो । दुबै गैंडा सानो उमेर भएकोले खाग नपलाएको उनले बताए ।
यो संगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आ.व. २०७९÷०८० मा मृत्यु हुने गैडाको संख्या १६ वटा पुगेको छ ।