चितवन ।भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले नेपाल र नेपालीको संस्कृति र सुन्दरतालाइ विश्वमाझ परिचित गराउन फोटो ग्राफरहरूको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । नेपालमा फोटोग्राफरहरुको महत्व दिन प्रति दिन बढ्दै गएको बताउदै उप प्रमुख अधिकारीले फोटोले मानिसको जिवनमा ठूलो प्रभाव पार्न सक्ने समेत स्पष्ट पार्नु भयो ।
चितवन फोटोग्राफी सघको ४१ औ बार्षिक साधारणसभा तथा नयाँ बर्ष २०८० सालको भित्तेपात्रो बिमोचन समारोहलाई आज सौराहमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले भन्नू भयो,‘तस्वीर आफै बोल्छ भन्ने उदाहरण यसैको प्रतिफल हो ।’
उहाँले फोटो मार्फत पनि स्थानीय सरकारले गरेका राम्रा तथा नराम्रा काम वा कमी कमजोरी अंगालिदिन पनि आग्रह गर्नु भयो । फोटोग्रफी व्यवसायीहरुको पेशालाई कसरी व्यवस्थीत गर्न सकिन्छ भन्ने तर्फ स्थानीय सरकारको हैसियतले भरतपुर महानगरपालिका गम्भीर रहेको प्रष्ट पार्दै उहाँले छरिएर रहेका फोटोग्राफर व्यवसायीलाई एक जुट बनाउन स्थानीय सरकार सधै तपाईहरु कै साथमा रहेको उल्लेख्य गर्नुभयो ।
नेपालको अर्थतन्त्रलाई थप चलायमान बनाउन फोटोग्राफरहरुको अतुलनीय योगदान रहेको स्मरण गर्नु हुँदै उप प्रमुख अधिकारीले पर्यटन प्रर्वद्धनका लागि पनि फोटोग्राफीहरुको उत्तिकै महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । साथै उप प्रमुख अधिकारीले समाजको दर्पणको रुपमा रहेको फोटोग्राफर क्षेत्रलाई महानगरले आगामी दिनमा जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको उल्लेख गर्नु भयो । भरतपुर भ्रमण बर्ष सन् २०२४ लाई सफल बनाउन सघले महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्नेमा पनि उहाँले विश्वास व्यक्त गर्नु भयो ।