चितवन । भरतपुर प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधाका ८ जना स्रष्टालाई पुरस्कृत तथा सम्मान गरेको छ । प्रतिष्ठानले आईतबार (आज) एक कार्यक्रमका बीच फरक ८ वटा विधामा पुरस्कार वितरण गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।
प्रतिष्ठानले नारायणी प्रज्ञा सम्मानबाट सहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनलाई प्रदान गरेको छ । यो पुरस्कारको राशि १ लाख ७८ रुपैयाँ रहेको छ । नेपाली भाषा, साहित्य, कला संस्कृतिको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै नारायणी प्रज्ञा सम्मानबाट गरिएको हो ।
भरतपुर प्रज्ञा सम्मानबाट कलाकार ऋद्धिचरण श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । श्रेष्ठलाई नेपालको कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
यस्तै कृष्ण बम मल्ल प्रज्ञा सम्मानबाट लेखक डिआर पोखरेललाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । नेपाली वाड्मय, लोकसाहित्य तथा संस्कृतिको क्षेत्रमा पुराएको योगदानको कदर गर्दै यो सम्मान गरिएको हो ।
चितवन प्रज्ञा पुरस्कारबाट प्रा.डा. लक्षमणप्रसाद गौतमलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ ।
वागीश्वरी प्रज्ञा पुरस्कारबाट स्रष्टा गायत्री श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ ।
यस्तै भरतपुर प्रज्ञा पुरस्कारबाट स्रष्टाहरु पोषराज पौड्याल, डा एकनारायण पौड्याल र सिर्जन अविरललाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ । स्रष्टाहरुलाई भरतपुर महानगरपालिका प्रमुख एवम् प्रतिष्ठानका कुलपति रेनु दाहालले स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।