चितवन । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रवहादुर केसीले चितवन क्षेत्र नम्बर २ मा हुने उपर्विाचनमा राष्ट्रकोे रक्षाका लागि आफ्नो पार्टीले उम्मेदवारी दिएको बताउनुभएको छ । जनमोर्चाले आज गरेको भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रियता र स्वाधिनताका लागि जनमोर्चाले उम्मेदवारी दिएको बताउनुभयो ।
देशको राजनीतिक स्थिति प्रतिगमन तर्फ उन्मुख भईरहेको बताउँदै उहाँले यसलाई रोक्नका लागि राष्ट्रिय जनमोर्चाको उम्मेदवारले विजयी हाँसिल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘राष्ट्रियता गम्भीर खतरामा छ । बाह्य शक्तिको चलखेल पनि उत्तिकै छ । ’ लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सरकारलाई समर्थन गरेको बताउँदै उहाँले गठबन्धनको आवश्यकता अहिले पनि रहेको बताउनुभयो । राष्ट्र र राष्ट्रियताको बिषयमा आफ्नो पार्टीले गम्भीर भएर आवाज उठाउँदै आएको हुँदा आफ्ना उम्मेदवारले निर्वाचन जित्ने उहाँको विश्वास थियो ।
नेपालमा विदेशी हस्तक्षेप वढ्दै गएको बताउँदै उहाँले यसलाई रोक्नका लागि उप निर्वाचनमा आफ्नो दलले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । चितवन क्षेत्र नम्बर २ मा जनमोर्चाले केन्द्रिय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाएर निर्वाचनको मैदानमा आएको छ । निर्वाचनमा आफ्नो उम्मेदवार बिजयी वन्ने बताउँदै केसीले मत परिणाम नआउँदै यो वा त्यो भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचनमा हार जीत सामान्य हो । आफ्नो मुद्धाका लागि उम्मेदवारी दिनु पर्छ । जीत हार भन्ने कुरा जनताको मत र हातमा हुन्छ ”
सरकारलाई समर्थन दिएर प्रतिपक्षमा वसेको जनमोर्चा सरकारको गुण र दोषका आधारमा विरोध र समर्थन गर्ने केसीको भनाई छ । कार्यक्रममा बोल्दै उम्मेदवार शर्माले नेपाललाई प्रयोगशाला बनाउन खोजीएको र यसको बिरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । साम्राज्यवादी शक्तिको बिरुद्धमा अभियानको रुपमा आँफुहरु जनताकोमा जाने उहाँको भनाई थियो ।