चितवन ।भरतपुर महानगरपालिकाभित्र रहेका एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ (फायर इक्सटिङगुडसर) वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले आज एक कार्यक्रमको आयोजना गरी महानगरभित्र रहेका एक सय १० सामुदायिक र चार धार्मिक प्रकृतिका (गुरुकुलम) लाई सो यन्त्र हस्तान्तरण गरेको हो ।
महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रध्यानाध्यापकलाई यन्त्र हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले महानगरपालिकाले सुरक्षित विद्यालय अवधारणाअन्तर्गत यन्त्र वितरण गरिएको बताउनुभयो । विद्यालयमा गर्मी समयमा हुन सक्ने आगलागी नियन्त्रणका लागि यन्त्र उपयोगी बन्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा थप नयाँ आयाम दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।” यस यन्त्रको प्रयोग भएपछि महानगरले ग्यास भरेर (रिफिल) पुनः विद्यालयलाई दिने उहाँको भनाइ छ । महानगरपालिकाले अहिले सबै विद्यालयमा दिवा खाजाको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले हरेक वर्ष नयाँ कार्यक्रम सुरुआत गर्ने बताउनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरको यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । यसले विद्यालयमा हुनसक्ने ठूलो दुर्घटनामा उद्धार गर्न मद्दत पुग्ने उहाँको विश्वास थियो । शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलले सामुदायिक विद्यालयको सुधारका क्रममा यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो । महानगरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वर्षेनि नयाँ कार्यक्रम ल्याउने गरेको उहाँको भनाइ थियो ।
महानगरपालिकाले विद्यालयलाई प्रदान गरेको अग्नि शमनयन्त्रले एक हजार डिग्री तापक्रमसम्म काम गर्न सक्ने क्षमता छ । यसमा भएको ग्यासलाई २१ सेकेण्डसम्म प्रयोग गर्न सकिने पौडेलले जानकारी दिनुभयो । एक सय १४ विद्यालयललाई वितरण गरिएको ती सामग्री रु आठ लाख १८ हजार बराबरका हुन् । एउटा विद्यालयलाई एउटा यन्त्र वितरण गरिएको हो । रासस