भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ७ मा रहेको प्रेमबस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन शाखाले आयोजना गरेको शिविरमा प्रेमवस्ती दुग्ध उत्पादक सहकारीले सहकार्य गरेको थियो । शिविरमा ४ सय १० वटा पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसअनुसार १ सय ६५ वटा गाई, २३ वटा भैसी, १२ वटा कुकुर, २ सय १० वटा बाख्राको स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्रध्यापक डा शत्रुघन शाह, महानगरका पशु विकास अधिकृत डा सन्तोष घिमिरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका देव शाह, सपना यादवको टोलीले पशुहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
डा शत्रुघन शाहका अनुसार स्वास्थ्य परीक्षणका क्रममा किसानहरुलाई गोठ सुधार्न र सरसफाईमा ध्यान दिन सुझाइएको बताए । शिविरमा छाला संक्रमण भएका पशुहरु परीक्षणका लागि धेरै आएका थिए । केही पशुहरुमा आँखामा समेत संक्रमण देखिएको थियो ।
बाँझोपन भएका गाईभैसी पनि उपचारका लागि किसानहरुले ल्याएका थिए । कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन पनि लगाइएको थियो । परालमा मात्रै नभई घाँस खेती गरेर घाँसमा आधारित पशुपालन गर्न आग्रह गरिएको बताए । उनका अनुसार परालमात्रै खुवाएर हुर्काइएका पशुहरुमा पौष्टिक आहार कमी भएको पाइएको थियो । अल्ट्रासाउण्ड (भिडियो एक्सरे) समेत गरेर गर्भावस्था भएका पशुहरुको परीक्षण गरिएको थियो । हर्निया भएका पशुहरुलाई सर्जरीका लागि सिफारिस गरिएको थियो ।
कार्यक्रममा प्रेमवस्ती दुग्ध उत्पादक सहकारीका अध्यक्ष केशव पण्डीत, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, व्यवसायीक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे लगायतको सहभागिता रहेको थियो । वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले पशुपंक्षी तथा कृषि क्षेत्रका लागि बजेट दोब्बर गरिने बताए ।
कृषक समाजका केन्द्रीय अध्यक्ष न्यूरेले किसानले पाउने गरी दूधको मूल्य वृद्धि भएकोमा भन्दै प्रशंसा गरे । उनले दूध उत्पादन लागत घटाउन सरकारी कार्यक्रमहरु आउनुपर्ने बताए । प्रेमवस्ती दुग्ध सहकारीमा १ सय ५१ जना आवद्ध छन् । दैनिक २ सय लिटर बढी दूध बेच्ने ३ वटा फर्महरु छन् । सहकारीकै नमुना फर्ममा दैनिक ७ सय बढी लिटर दूध उत्पादन हुनेगर्छ । प्रेमवस्ती दुग्धसहकारीले ५ सय गाई, ५ सय भैसी पाल्ने लक्ष्य सहित अन्र्तराष्ट्रिय स्तरको डेरी सहकारी चलाउने लक्ष्य लिएको छ ।