चितवन । चितवनको सात पालिकाहरुमध्ये दुई पालिकामा मात्र एक सय ३९ जना अपाङ्गता भएका बालबालिका बिद्यालय बाहिर रहेका छन् । समावेशी शिक्षा परियोजनाले आज भरतपुरमा आयोजना गरेको सञ्चारकर्मीहरु संग छलफलका क्रममा उक्त तथ्याङ्क सार्बजनिक गरेको हो । भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका २८९ जना अपाङ्ग बालबालिका मध्ये उनीहरु बिद्यालय जान नपाएका हुन ।
भरतपुर महानगरपालिका भित्र ५० जना र कालिका नगरपालिकामा १९ जना वालवालिका जटिल प्रकारको अपाङ्गता भएको पाईएको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघकी शर्मिला तामाङ्ले जानकारी दिनुभयो । उनीहरुलाई घरमानै गएर सेवा दिइदैं आएको उहाँले बताउनुभयो । ईन क्लुसिभ फिउर्चस अन्तर्गत सञ्चालित परियोजनाले बिगत एक वर्षमा गरेको कामको समिक्षाका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
यस परियोजनाले दुई वटा पालिकामा दुईवटा स्रोत केन्द्र समेत सञ्चालन गर्दै आएको छ । भरतपुर महानगरपालिकाको बालकुमारी माध्यामिक विद्यालय र कालिका नगरपालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुर महानगरपालिकामा अहिले ३ जना र कालिका नगरपालिकामा ९ जना बालबालिकाहरु केन्द्रमा रहेका छन् । परियोजना सकिए पछि स्थानीय तहमा हस्तान्तरण गर्ने गरी केन्द्र सञ्चालन गरिएको तामाङ्ले बताउनुभयो ।
अटिजम केयर चितवन सोसाईटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका ५ सय भन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिनुभयो । उनीहरु मध्ये ३ सय हाराहारी भरतपुर महानगरपालिका भित्रका रहेका छन् । विश्वमा जन्मने ४४ जना वालवालिका मध्ये १ जनामा अटिजमको समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो । ईन क्लुसिभ फिउर्चस अन्तर्गत अहिले यस परियोजनाले अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।
अटिजम भएका बालबालिकालाई आबश्यक सहयोग गरेर यस्ता बालबालिकालाई समयमानै पहिचान गर्न सके सामान्य जीवन यापन गराउन सकिने उहाँको भनाई थियो । भरतपुर महानगरले सञ्चालन गरेको अटिजम बिद्यालयमा अहिले ३१ जना बालबालिका अध्ययन गर्दै आएका छन् ।
कार्यक्रममा परियोजनाका प्रबन्धक शुशिलबाबु खनाल, परियोजनाका परिवेक्षक रमेश बराल, अटिजम केयर चितवन सोसाइटिकी अध्यक्ष निर्मला डल्लाकोटी लगायतको सहभागिता रहेको थियो ।