चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको ३०औँ दिन भोलि (शुक्रबार) सवा करोड दिप प्रज्वलन गरिँदै छ । दिप प्रज्वलनका लागि आवश्यक तयारी सकिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए ।
भोलि दिउँसो १२ बजेबाट पाँच सरे सवा करोड दिप प्रज्वलन गरिने छ । दिप प्रज्वलन गर्न विभिन्न आमा समूहले नाम टिपाएका छन् । कोटिहोम महायज्ञका अध्येता एवम् राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम महायज्ञ गरिएको हो । महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा हवन, तर्पण एवम् मार्जन हुँदै आएको छ ।
महायज्ञमा बिहीबार बैष्णव परिषद्का केन्द्रिय अध्यक्ष तथा लक्ष्मी नारायण मन्दिर धनगढीका पीठाधिस आवाहल ब्रम्हचारी स्वामी १००८ देवराज आचार्यजी महाराजको आगमन भएको थियो । साथमा प्रसिद्ध कथा वाचक विष्णुप्रसाद ज्ञवाली, योगी खेचरनाथ र विश्व हिन्दु महासंघका अरुण कुमार पाण्डेले पनि महायज्ञको दर्शन एवम् अवलोकन गरेका छन् । फागुन १५ गते सकिने महायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ ।