काभ्रेपलाञ्चोक ।नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । कार्यक्रअन्तर्गत उक्त अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने जनाइएको छ ।
अस्पतालमा चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम–खोकीको क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाइ, श्वासप्रश्वास, रक्तचाप नाप, मधुमेह तथा महिलाका लागि ‘भीआइए’को निःशुल्क परीक्षण गरिनेछ ।
कार्यक्रममा रु दुई हजार दुई सयमा निःशुल्क बाहेकका पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, लिपिड प्रोफाइल, फोक्सो, छातीको एक्स–रे, इसिजी र युयस्जी परीक्षण हुने जनाइएको छ ।
कार्यक्रम बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले आइतबार एक कार्यक्रमका बीच सुरु भएको घोषणा गर्नुभएको छ । उहाँले नसर्ने रोगको महामारी फैलन थालेकाले यसको नियन्त्रण र सचेतनाका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
उहाँले स्वास्थ्योपचारमा सहभागी हुन नसक्ने नागरिकका लागि प्रदेश सरकारद्वारा निःशुल्क बीमाको व्यवस्था गरिएको बताउँदै स्थानीय तहको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सिमान्तकृन्त र आश्रित नागरिकलाई प्रदेश सरकारले निःशुल्क स्वास्थ्य सेवा वीमामार्फत उपलब्ध गराउने भएको हो ।
कार्यक्रमअन्तर्गत हरेक साताको एकपटक परीक्षण हुने जनाइएको छ । यसलाई विस्तारै वृद्धि गर्दै लैजाने सरकारको योजना छ । अस्पतालमा भौतिक पूर्वाधार तथा जनशक्तिअनुसारको उपकरण नहुँदा समस्या भएकाबारे मन्त्री श्रेष्ठले अस्पतालमा सेवा नरोकिने गरी जनशक्ति व्यवस्थापन गर्ने बताउँदै “आवश्यकताका आधारमा जनशक्ति तथा जनशक्तिअनुसारको उपकरण खरिद गरिनेछ”, उहाँले भन्नुभयो । उक्त अस्पताल प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भइरहेको छ ।
प्रदेशभरका अस्पतालका लागि सरकारले चालु आर्थिक वर्षभित्र स्वास्थ्य नीति तयार गर्ने तथा जनशक्तिको ‘ओएनएम सर्भे’ तयारी गर्ने र प्रदेशभित्रका सबै अस्पतालमा पूर्वाधारअनुसारको जनशक्ति तथा उपकरण व्यवस्था गर्ने योजना बनाएको छ । यस्तै सरकारले बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकको उपचार सेवाका लागि घरघरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्थामार्फत जनशक्ति व्यवस्थापन गर्नेसमेत योजना बनाएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पुरुषोत्तम सेढाईंले अस्पतालमा सेवा विस्तार गरिएका कारण नागरिक लाभान्वित भएको बताउनुभयो । सरकारले उक्त अस्पतालको भवन निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । हाल अस्पतालमा आकस्मिक, शल्यक्रियालगायतका सेवा २४सै घण्टा उपलब्ध छन् । रासस