चितवन । हरेक बर्ष फेब्रअरी १३ मा सधै फेसनमा भन्ने मुल नाराका साथ मनाईदै आएको अन्तरराष्ट्रिय कण्डम दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । एएचएफ चितवनको आयोजनामा नारायणी नदी किनारमा सांस्कृतिक कार्यक्रम सहित कण्डम दिवस मनाईएको थियो । जोखिमको संभावना भएका नागरिकलाई लक्षित गरी यस बर्ष नारायणी नदी किनारमा कण्डम दिवस मनाईएको हो ।
एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरी सापकोटाले एचआईभी एड्सको न्यूनिकरण र नागरिकलाई सचेतना दिने उद्धेश्यसहित कण्डम दिवस मनाईएको जानकारी दिनु भयो । ‘अघिल्ला बर्ष हामीले बसपार्क र अन्य जोखिम क्षेत्र हेरेर कण्डम दिवस मनाएका थियौं, उहांँले भन्नु भयो, अहिले नारायणी नदी किनार रोजेका हौं ।’
नारायणी नदी किनारमा विभिन्न वर्ग जात, समुह र सबैतिरको केन्द्र भएकोले यहांँ कार्यक्रम गरिएको उहांँले जानकारी दिनुभयो । उहांँका अनुसार त्यस्ता वर्गलाई आकर्षण गर्न र सचेतना जगाउन सांँस्कृतिक कार्यक्रम, निःशुल्क कण्डम वितरण र एचआईभी परीक्षण गरिएको थियो ।
सो अवसरमा १ हजार सातसय कण्डम वितरण र २० जनाको निःशुल्क एचआईभी परीक्षण गरिएको उहांँले बताउनु भयो । एचआइभी परीक्षणमा कसैको पनि पोजेटिभ नतिजा नदेखिएको उहांँको भनाई छ ।
‘पछिल्लो समय समाजमा यौन सचेतना आएको पाएका छौं । अहिले एकजनामा पनि पोजेटिभ केस नआउनु सकारात्मक पक्ष हो ।’ उहांँले भन्नुभयो ।
कार्यक्रममा यातायात मजदुर, होटल तथा रेष्टुरेण्ट मजदुर , युवायुवती लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । एआरटी सेन्टरले यसअघिपनि एचआईभी सम्बन्धी सचेतना र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ ।