चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरिएको छ । विद्यालयको ६५ वार्षिकोत्सवको अवसरमा स्वर्गीय प्रशान्त पोखरेलको स्मृतिमा परिवारजनले उक्त भवन विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । वार्षिकोत्सव एवं पुस्तकालय हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश शभा सदस्य ईश्वर सापकोटा “ सुमन“ र स्वर्गीय पोखरेलका हजुरबुवा लिला बहादुर पोखरेलले संयूक्त पुस्तकालयको शुभारम्भ गर्नुका साथै स्वर्गीय पोखरेलको शालिक अनावरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि सापकोटाले पोखरेल परिवारले शिक्षाको ज्योती छर्नका लागि अत्यन्त पुनित कार्य गरेको भन्दै आभार प्रकट गर्नुभयो । विद्यालयमा अध्यनरत बहुसंख्यक आदिवासी जनजाति ,कुमाल जातिका सन्ततीको शिक्षा आर्जनमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वर्गीय पोखरेलका हजुरबुवा एवं पुस्तकालयका संरक्षक लिला बहादुर पोखरेलले आफ्नो नातीको अल्पायू मै स्वर्गारोहण भए पनि पुस्तकालय आफ्ना नाति जस्तै अन्य विद्यार्थीले पढ्न पाउन भन्ने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको बताउनुभयो । उक्त पुस्तकालबाट शिक्षाको ज्योती प्राप्त गर्ने अवसर जुटेको भन्दै उहांँले आफ्नो सन्तान सोक धेरै हदसम्म सुखमा परिणत भएको बताउनु भयो ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डण्डपानी रिजालले पोखरेल परिवारजन प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दै, विद्यालयको समग्र विकासका लागि वडा कार्यालयले सक्दो समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पुस्तकालयका संस्थापक एवं वानेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बालसिंह पोखरेलले मेघौली भौगोलिक एवं पर्यापर्यटनका हिसाबले उत्कृष्ट रहेपनि शिक्षाको ज्योतिबाट पछि परेकोले पुस्तकालय स्थापनाले शिक्षामा केही टेवा दिनसक्ने बताउनुभयो । पुस्तकालयले विद्यार्थीका साथै अभिभावकहरुमा पनि शैक्षिक सचेतना अभिवृद्धि होस भन्ने हेतुले पुस्तकहरुको प्रबन्ध गर्दै थप पुस्तक संकलन गर्दै लैजाने बताउनु भयो ।
विध्यालययका प्रधानाध्यापक उमेश आचार्यले पुस्तकालय स्थापनाले किताबी ज्ञानका साथै बाहिरी ज्ञान आर्जन गर्न विद्यार्थीलाई सहज हुने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालले पुस्तकालय प्रदान गर्ने पोखरेल परिवार प्रती हार्दिक कृतज्ञता एवं पुस्तकालयको उच्चतम सदुपयोगमा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
श्री आधारभूत विद्यालय सिसाबासका पूर्व विद्यार्थी प्रशान्त पोखरेलको मिति २०७९ बैशाख १३ गते सवारी दुर्घटनामा परी अल्पायुमा निधन भएको थियो ।