चितवन । चितवनको माडी नगरपालिकामा फागुन ११ गतेदेखि तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, नेपाल एथलेटिक्स संघ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका एक सय ३५ खेलाडीहरु सहभागी हुनेछ्न् ।
सहभागी खेलाडीहरुले विभिन्न २६ विधामा २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुनेले पदकसहित पाँच हजार, द्धित्तियले तीन हजार र तृतियले दुई हजार रुपैयाँ नगद प्राप्त गर्ने चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबदाहुर रजाली मगरले जानकारी दिए ।
जुनियर राष्ट्रिय कीर्तिमानी खेलाडीले सात हजार तथा महिला र पुरुषतर्फबाट उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न २७ लाख दुई हजार ७२० रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
प्रतियोगिताले दुर दराजमा लुकेका प्रतिभावान खेलाडी पहिचानसँगै माडीका पर्यटकीय क्षेत्रको पहिचान, प्रचार प्रसार तथा व्यापार प्रवद्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।