गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १० स्थित पितौजीमा ज्ञान महायज्ञ शुरु हुने भएको छ ।
समावेशी गुरु संस्कृत विद्यापीठ सञ्चालनका लागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गरिने भएको हो । पितौजिमा रहेको दुर्गा मन्दिर सञ्चालक समिति कोटीहोम आश्रमको आयोजनामा माघ २३ गतेदेखि फागुन १ गतेसम्म महायज्ञ गर्न लागिएको हो ।
विना पूर्वाधार सञ्चालन हुँदै आएको समावेशी गुरु संस्कृत विद्यापीठ सञ्चालनको लागि आवास भवन तथा विद्यापीठ भवन निर्माण गर्नका लागि महायज्ञ गर्न लागिएको महायज्ञ प्रचार प्रसार उपसमिति संयोजक देविदत्त कंडेलले जानकारी दिनुभयो ।
हिन्दु धर्म माथिको आक्रमण रोक्न र धर्मको संरक्षण गर्न ज्ञानमहायज्ञले टेवा पुग्ने कंडेलले बताउनु भयो । विद्यापीठ सञ्चालन पछि यस बिषयमा गहन अध्ययन अध्यापन हुने र संस्कृत भाषाको पनि पुनरुत्थान हुने उहांँको भनाई छ ।
यस विद्यापिठमा संस्कृतको पठनपाठन हुँदै आएको छ । हाल ६ र ७ कक्षामा सस्कृत पठनपाठन गर्दै आएको यस आश्रमले कक्षा १२सम्म पठनपाठन गराउने लक्ष्य राखेको छ । यहाँ २४ जना बटुकले पढ्दै आएका छन् । यहाँ ब्राहम्ण, सिल्पकार, तामाङ, मगर, ठकुरी, क्षेत्रीका बटुक रहेको पिठाधिर योगी खेचरनाथ जानकारी दिनुभयो ।
यस क्षेत्र धार्मिक पर्यटनको लागि उपयुक्त हुने बताउंँदै उहांँले गुरुयोजनालाई साकार बनाउन पनि महायज्ञ आवश्यक रहेको उहांँले बताउनु भयो । महायज्ञमा दाता, दातृसंस्थाबाट नगद जिन्सी संकलन गर्नुको साथै तीनैतहका सरकारसंँग बजेट माग गरिएको उहांँको भनाई छ । एकसातासम्म चल्ने महायज्ञमा ८० लाख बराबर खर्च हुने र ४ करोड बराबरको नगद जिन्सी संकलनको अपेक्षा राखिएको छ । दाताले दिएको दान अनुसार उनीहरुको नाम शिलालेख देखि भवनमा समेत नामाकरण गरिने छ ।
संस्कृत माध्यमबाट मात्र कक्षा सञ्चालन नभई अंग्रेजी माध्यमबाट पनि पठनपाठन हुँदै आएको छ । अहिले चन्दा तथा दानबाट उनीहरुको खर्च सञ्चालन भएको आश्रमले जानकारी दिएको छ ।
सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रमको पितौजिमा १० विघा जग्गा समेत छ । गुरुयोजना बनाएर आवश्यक सुविधा युक्त संरचना योग तथा प्राकृतिक चिकित्सालय भवन, योग साधना केन्द्र, गौ संरक्षणको लागि गौशालाको व्यवस्थापन गर्ने गरि संरचना बनाउन लागिएको महायज्ञ समितिका संयोजक राजेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुरुयोजना अनुसार पूर्वाधार निर्माण गर्नका लागि करिव डेढ अर्व रुपैयाँ खर्च लाग्ने छ । गुरुयोजनाको डिपिआर तयार भैसकेको छ । तर, यस महायज्ञबाट संकलन भएको रकमले सस्कृत विद्यापीठ सञ्चालनको लागि आवास भवन निर्माण गर्ने लक्ष्य लिईएको छ ।
विशेष गरि गैँडाकोट नगरपालिका १०, ११, १२ र १३ नम्बर वडाबाट बढी महायज्ञमा सहयोग प्रप्त हुने अनुमान गरिएको छ । श्रीमद्भावत सप्ताह ज्ञानमहायज्ञले वैदिक सनातन धर्म, संस्कार र संस्कृति प्रति समाजमा सचेतना जगाउने अपेक्षा लिईएको छ ।