काठमाडौँ । देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा डा. अनिल विक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहका ७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
लोकतान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष ( प्रदेश नम्बर १ संयोजक) मा डा. बिपेश आचार्य, उपाध्यक्ष ( लुम्बिनी प्रदेश संयोजक) मा डा. नन्दाकुमारी गुरुङ र उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक) मा डा. केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहसचिवमा डा. लिजन महर्जन र सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
चिकित्सक संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष (प्रदेश संयोजक) , महासचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष र ६ सदस्य गरि १९ जनाको कार्यसमिति हुने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष सहित ७ पदाधिकारी निर्विरोध भए पछि अब अध्यक्ष, महासचिव लगायत १२ पदका लागि मात्र निर्वाचन हुने छ ।
तिन वर्षमा हुने नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूह, एमाले निकट पेशागत समावेशी समूह र स्वतन्त्र गरि तीन समूह अहिले चुनावी मैदानमा छन् । लोकतान्त्रिक समूहको नेतृत्व डा.अनिल बिक्रम कार्कीले गरेका छन् भने पेशागत समावेशी समूहको नेतृत्व डा.सन्तोष पौडेलले गरेका छन। त्यस्तै स्वतन्त्र समूहबाट डा. शिबजी सिलवालले नेतृत्व गरेका छन । विभिन्न समूह बनाएर चुनावी मैदानमा ओलिएका भए पनि डा. कार्कीको लोकतान्त्रिक समूहको समूहको तुलनामा अन्य समूहले जित हासिल गर्न मुस्किल रहेको चिकित्सकहरु बताउछन ।
चिकित्सक संघको इतिहासमा लोकतान्त्रिक समूह बाहेक अरुले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । तीन वर्ष पहिले भएको निर्वाचनमा पनि लोकतान्त्रिक समूहका डा. लोचन कार्कीले दुई तिहाई भन्दा बढी मतले प्यानल सहित बिजय भएका थिए । यो पटक पनि ७ जना पदाधिकारी निर्विरोध भइसकेकाले डा. कार्कीको समूह जित हासिल गर्नेमा ढुक्क छ ।
उम्मेदवार समेत उठाउन नसक्ने अर्का समूहले जित हासिल गर्न निकै टाढाको कुरा रहेको वरिष्ठ चिकित्सक डा. करविरनाथ योगीको दावी छ । डा. पौडेलले नेतृत्व गरेको पेशागत समावेशी समूहले १२ जना मात्र उम्मेदवार उठाएको छ भने डा. सिलवालले ५ जनामात्र मैदानमा उतारेको छ । आफ्नो समूह प्रति देश भरिका चिकित्सकहरुको विश्वास रहेकाले विजय हुनेमा ढुक्क रहेको डा. लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा. कार्की बताउछन । चिकित्सकहरुले नेतृत्व परिवर्तनको चाहना राखेकाले आफुले नेतृत्व गरेको पेशागत समावेशी समूहले जीत हासिल गर्ने डा. पौडेलको दावी छ ।
उपत्यका बाहिर माघ ६ र ७ गते तथा उपत्यका भित्र माघ १९, २० र २१ गते गरि दुई चरणम गरि हुने संघको निर्वाचनमा तीन वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ । नेपाल चिकित्सक संघका करिव १३ हजार मतदाता छन् ।