गोपाल कंडेल, चितवन । हरेक बर्ष देशभर गणना गरिंँदै आएको चरागणना सकिएको छ । अघिल्लो आइतबारबाट चितवनमा गरिएको चरा गणना सकिएको छ । जनवरी ८ र ९ गते चितवनमा गरिएको चरा गणनामा पांँच प्रजातिको चरा नभेटिएको संरक्षणकर्मीले बताएका छन । यो बर्ष पांँच प्रजातिका चरा नभेटिएपछि संरक्षणकर्मी, चराविद चिन्तित भएका हुन् ।
वातावरण तथा पानीमा प्रदुषण तथा जलवायु परिवर्तनका कारण पानी आश्रित चराहरु घटेको उनीहरुको भनाई छ ।
चितवनमा वर्ड एजुकेशन सोसाइटीले चरा गणनाको संयोजन गरेको थियो । लोथरबाट जिन्दगानीघाट, जिन्दगानीघाटबाट सौराहाघाट र सौराहाघाटदेखी कसरापुलसम्म तीन वटा अलग अलग टोली खटाएर एकैसाथ गणना गर्न लागिएको सोसाइटीका अध्यक्ष टीकाराम गिरीले जानकारी दिनुभयो । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिन्छ । त्यस्तै ढुङ्ग्रे खोला बुढी राप्ती, बिसहजारी ताल, माडीको रिउ खोलामा पनि गणना गरिएको छ । समुहगत चरणमा जीप , डुंगा र पैदल गरी बाइनाकुलर, दुरविन टेलिस्कोपद्धारा चरा गणना गर्ने गरिन्छ ।
यस बर्षको चरा गणनामा पानीमा आश्रित पांँच प्रजातिका चरा नभेटिएको गिरीले बताउनु भयो । ‘गतबर्षहरु भन्दा अहिले पानीमा आश्रित पांँच प्रजातिका चरा घटेका छन तर कुल संख्यामा भने कमी भएको छैन । ’उहांँले भन्नुभयो, तर यी चरा नदेखिनु चिन्ताको बिषय हो ।’
गिरीका अनुसार सुनजुरी हांँस, कैलो टाउके, हलीमुख चरा, थारव , लालचुडे चखेवा यसबर्ष नभेटिएको हो । खोलानाला प्रदुषण, मानवीय चाप, आहारा कमीका कारण पानीमा आश्रित चरा नभेटिएको उहांँको भनाई छ ।
चितवनमा गतसाल पानीमा आश्रित ५४ जातिको चरा भेटिएको र यो बर्ष ४९ जातिको चरा भेटिएको छ । गत साल १२ हजार ७७७ गणना गरिएकोे र अहिले १६ हजार १६५ चरा भेटिएको उहांँले जानकारी दिनुभयो । ‘आईतवार हामीले सार्वजनिक गरिएको तथ्यांकमा पानीमा ७हजार ४७५ र पाखामा ८६९२ चरा गणना भएको छ ।’ उहांँले भन्नुभयो ।
बिशेष गरी चराविद ,संरक्षणकर्मी ,नेचर गाईड, चराप्रेमीहरुको सहभागितामा चरा गणना गर्ने गरिन्छ ।
हिमालयन नेचर संस्थाको संयोजनमा देशभर चरा गणना गरिएको हो ।
विश्वमा पानीमा आश्रित चराको अवस्था, चोरी शिकारी तथा चरीचरणको अवस्थाको बारेमा जानकारी हुने उद्धेश्यले चरा गणना गरिंदै आएको छ ।
नेपाल पंक्षी विद संघका वागमती प्रदेश संयोजक बासु विडारीले गत बर्ष तुलनामा यो बर्ष घटेको कारण आफुहरु चिन्तित भएको बताउनु भयो । ‘चखेवाहरुको संख्या चाहिंँ बढ्यो तर अन्य पांँच प्रकारका चरा चाहिं अहिले देखिएनन ।’ उहांँले भन्नुभयो । तालतलैया, खोला नदी सुकेका कारण नेपालमा मात्र नभई विश्वभरनै घटेको उहांँको भनाई छ । चराको प्रजाति र संख्या बढेसंँगै अन्य जनावरहरुको संख्या पनि बढ्ने सुचक हुने उहांँले बताउनु भयो । चराको संख्या बढाउन खोलामा ढल, र कारखानाबाट निस्कने फोहोरहरु अन्य ठाउंँमा व्यवस्थापन गर्नुपर्ने उहांँले बताउनु भयो । ‘ यसको संख्या बढाउन ग्लोबल वार्मिङ्ग, पानीमा प्रदुषण र ओभर फिसिङ्ग ( माछा मार्ने) गर्नु भएन ।’ विडारीले भन्नुभयो । पछिल्लो तथ्यांक अनुसार देशभर ८९२ प्रजातिका चरा र चितवनमा मात्रै ६५२ प्रजातिका चरा पाईन्छन ।