चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व असुली लक्ष्य भन्दा आधा बढीले घटेको छ । आर्थिक बर्ष ०७९, ८० को मंसिर महिनामा लक्ष्य भन्दा ५१ दशमलब ७९ प्रतिशतले घटेको हो । कार्यालयका अनुसार मंसिर महिनामा विभागले २ अर्ब ३३ करोड २२ लाख ७२ हजार लक्ष्य दिएकोमा १ अर्ब १२ करोड ४५ लाख ९ हजार रुपैंया असुली भएको छ ।
कार्यालयले यो महिनामा आयकर र बहाल शिर्षक बाहेक कुनैपनि शिर्षकमा लक्ष्य भेट्टाउन सकेको छैन । जसअनुसार मंसिर महिनामा विभागले आयकर शिर्षकमा ८ करोड ६८ लाख ७१ हजार रुपैंया लक्ष्य दिएकोमा १४ करोड ३३ लाख १२ रुपैंया असुली भएको छ । यस्तै बहाल कर शिर्षकमा २३ लाख ७२ हजार रुपैंया लक्ष्य दिएकोमा २४ लाख ८ हजार रुपैंया असुली भएको छ । अन्य शिर्षकमा भने लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयका अनुसार व्याजकर शिर्षकमा ४२ लाख रुपैंया लक्ष्य दिएकोमा १२ लाख ३६ हजार रुपैंया असुली, मुल्य अभिवृद्धि करमा १४ करोड ३८ लाख १५ हजार रुपैंया असुली लक्ष्य दिएकोमा १० करोड ५८ लाख ७ हजार रुपैंया , अन्त शुल्क शिर्षकमा २ अर्ब ९ करोड ३५ लाख ८६ हजार लक्ष्य दिएकोमा ८७ करोड ५५ लाख ८३ हजार रुपैंया असुली, स्वास्थ्य सेवा कर शिर्षकमा १७ लाख २८ हजार रुपैंया असुली लक्ष्य दिएकोमा १३ लाख ८३ हजार रुपैंया असुली भएको छ । शिक्षा सेवा करमा भने विभागले कुनै पनि लक्ष्य दिएको छैन र असुली पनि भएको छैन ।
कार्यालयका सूचना अधिकृत विष्णु बहादुर राउतले बजारमा उपभोग्य बस्तुको मागनै कम भएकोले यसको प्रत्यक्ष असर राजश्व असुलीमा परेको बताए । ‘पछिल्लो समय समग्र आर्थिक गतिविधि सुस्त छ, माग कम हुंँदा बिक्री कम भई कर असुली पनि कम भएको हो।’ राउतले भने ।
यो कार्यालय अन्य उत्पादन भन्दा मदिराजन्य बस्तुमा निर्भर भएकोले पनि यसको निकासी कम हुन गई समग्र लक्ष्य असुलीमा असर परेको उनको भनाई छ । ‘मंसिर महिनाभन्दा अघि चाडबाड र चुनाबले मदिराजन्य लगायत बस्तुको बिक्री वितरण ठिकै थियो । तर यो महिना कम्पनीहरुले बुझाउने उनले भने, अहिले सरकारी कार्यालयको टेण्डर लगायतका काम पनि सुस्त छ समग्रमा भन्नुपर्दा आर्थिक संकटनै राजश्व असुलीको कम हुनुको पहिलो कारण हो ।
कर असुली उत्पादित बस्तुको बिक्री वितरणमा भर पर्ने हुनाले हरेक महिनामा कर असुलीको अनुपात घटबढ भएपनि बार्षिक लक्ष्य असुली भेट्टाउन सकिने संभावना भएको उनले बताए ।
विभागले कार्यालयलाई यो आर्थिक बर्षका लागि २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार रुपैंया राजश्व असुलीको लक्ष्य दिएको छ ।