चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले एक महिनामा २२ लाख रुपैंया बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष ०७९,८० को मंसिर महिनामा २२ लाख ४४ हजार पांँचसय रुपैंया राजश्व संकलन गरेको हो । सो अवधिमा सबै प्रकृतिका गरी २ हजार ४६३ सवारी साधन कारवाहीमा परेका थिए ।
कार्यालयका अनुसार सबै भन्दा बढी राजश्व संकलन कार,जीपबाट बाट र सबैभन्दा कम राजश्व टेक्टरबाट संकलन भएको छ । जसअनुसार सो अवधिमा ५७९ वटा कार,जीप कारबाहीबाट पांँच लाख ३६ हजार र एकसय १० वटा टेक्टर कारवाहीबाट १ लाख २ हजार रुपैंया राजश्व संकलन भएको छ । यस्तै ६४१ वटा मोटरसाइकलबाट ५ लाख ३२ हजार पांँचसय ,४६६ वटा ट्रक ट्रिपरबाट ५ लाख १९ हजार, ३४५ वटा बस,माईक्रो कारबाहीबाट ३ लाख १९ हजार र टेम्पो तथा अन्य गरी ३२२ वटा सवारी साधन कारवाहीबाट २ लाख ३६ हजार रुपैंया राजश्व संकलन भएको छ ।
कार्यालयका प्रमुख धर्म बहादुर अधिकारीले अघिल्ला महिनाभन्दा यो महिना राजश्व संकलन कम भएको जानकारी दिए । ‘असोज महिनामा ३२ लाखको हाराहारीमा संकलन भएको थियो, कात्तिकमा २५ लाख जति भयो अहिले मंसिरमा फेरी घट्यो ।’ उनले भने । सवारी साधनको कारवाही संख्या र गल्तीको प्रकृति अनुसार राजश्व घटबढ हुने उनले बताए । अघिल्ला महिनामा निर्वाचन, चाडबाडले सवारीको चाप र कारवाहीको संख्या सोही अनुपातमा बढेकोले पनि ती महिनामा राजश्व संकलन बढी भएको उनको भनाई छ । ‘अहिले राजश्व सवारीधनीले बैंकमा लगेर जम्मा गर्नुपर्ने सिष्टम छ । उक्त राजश्व समयमै नबुझाउनाले पनि राजश्व संकलन घटबढ हुने गदर्छ ।’ अधिकारीले भने ।