चितवन – भरतपुर ७ कृष्णपुरमा आज (मंगलबार) बाट सुरु भएको प्रथम ढल्के जोवन सेभेन ए साइड फुटबलमा आयोजक पानस युवा क्लबले विजयी सुरुवात गरेको छ ।
पानसले उद्घाटन खेलमा जु एफसी जुगेडीलाई ७-१ को फराकिलो अन्तरले पराजित गर्यो । यो जितसँगै पानस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच पानसका जित मगर घोषित भए । त्यस अघि प्रतियोगिताको भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा बुधवार तीन खेल हुनेछ । पहिलो खेलमा बिहान ११ बजे भरतपुर ११ र अभिषेक चर्च रजहर भिड्नेछन् भने दोस्रो खेल मध्यान्ह १२ बजे सौराहा युवा समाज र पार्वतीपुर युनाइटेडबीच हुनेछ । यस्तै दिउँसो १ बजे रड्स एफसी रामपुर र शुभ बिहानी क्लब भिड्नेछन् ।
१२ टोली सहभागी प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मदन तामाङले जानकारी दिए । उनका अनुसार उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर १० गतेसम्म चल्नेछ ।