चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने भएको छ । क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एन्ड टेक्नोलोजिले पौष ११ गते देखि १४ गतेसम्म ‘ह्याकाथन’ गर्न लागेको हो ।
शुक्रबार कलेजमा आयोजित पत्रकार सम्मेलन मार्फत सो कार्यक्रमको बारे जानकारी दिईएको हो ।
सूचना प्रविधिमा नवीनतम प्रविधिको अभ्यास गर्दै विद्यार्थीहरुले निर्माण गरेको एप्लीकेशन बजारमा लैजाने उद्धेश्यसहित कार्यक्रम आयोजना गरेको कलेजले जानकारी दिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले कुनै एउटा एप्लीकेशनको बिषय छनोट गरी त्यसमा आधारित रहेर त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङ मार्फत प्रस्तुत गर्नेछन् ।
यसले सहभागीहरुको प्राविधिक कौशलताको विकास गर्नुका साथै प्राविधिक कम्पनीहरुको विकासमा पनि मद्त मिल्ने कलेजका बिसिआइएस प्रोग्राम कोडिनेटर नवीन कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा देशभरबाट कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुनेछन् । उनीहरुले तीन दिन आ(आफ्नो योजनालाई कोडिङमा परिणत गर्नेछन् । चौथो दिन आग्नो योजना निर्णायक सामू प्रस्तुत गर्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि दर्ता गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ । हालसम्म ६ वटा कलेजले अनलाईन रजिष्ट्रेशन गरिसकेको उनले बताए । कार्यक्रमको दर्ता रकम प्रति टोली ४ हजार ५ सय निर्धारण गरिएको छ ।
प्रतिस्पर्धात्मक कार्यक्रमको विजेताले ३० हजारसहित शिल्ड दोस्रो हुनेले, २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट टोलीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।