चितवन । चितवनको रामपुरमा म्याजिक (सानो माईक्रो बस) ले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय अगाडि म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा म्याजिकमा सवार स्याङजाका २४ वर्षीय नविन नेपाली र मोटरसाइकल चालक भरतपुर–५ बस्ने ४० वर्षीय यज्ञ शर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ ७ः२५ बजेको समयमा भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ५६०५ नम्बरको म्याजिकले भरतपुरतर्फ आउँदै गरेको ना ३३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका म्याजिकमा सवार नेपालीको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । मोटरसाइकल चालक शर्माको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार राती ८ः१२ बजेको समयमा मृत्यु भएको उहांँले बताउनु भयो ।
म्याजिकमा सवार भरतपुर–२० बस्ने वर्ष २० का आशिष नेपालीको पुरानो मेडिकल कलेज र मोटरसाइकलको पछाडि सवार भरतपुर–५ बस्ने वर्ष ३९ को श्याम खरेलको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले म्याजिक चालकलाई नियन्त्रणमा लिएको छ ।