चितवन । चितवनको पर्यटकीय नगरी सौराहाका पर्यटन व्यवसायी सहित रत्ननगरका अन्य व्यवसायीहरुलाई आइतवार देखि खोप लगाउन थालिएको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनको सक्रियतामा खोप ल्याएर पर्यटन व्यवसायी,होटलका कर्मचारी,नेचरगाईड तथा नगर भित्रका अन्य व्यवसायीहरुलाई पनि खोप लगाउन थालिएको हो । खोप अभाव भएपछि रत्ननगरका मेयर वनले मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय संग समन्वय गरेर खोप माग गरेका थिए । मेयर वनको आग्रहका आधारमा प्रदेश सरकारले रत्ननगरका पर्यटन व्यवसायी,कर्मचारी,नेचरगाइडहरु तथा उद्योग बाणिन्य संघ र उद्योग संघमा आबद्ध व्यवसायी,सहकारीकर्मी,खानेपानी संस्थाका कर्मचारीहरुका लागि खोप पठाएको हो ।
हामीले जिल्ला भरीका पर्यटन व्यवसायी,यस संग सम्बद्ध कर्मचारी,नेचरगाइड,सहकारीकर्मीहरुका लागि प्रदेश सरकारसंग २ हजार ५०० खोप माग गरेका थियौं मेयर वनले हाम्रो आग्रह र पहलका आधारमा खोप आएर लगाउन सुरु गरिएको छ । मेयर वनले सौराहा सहित पश्चिम चितवनका पर्यटन व्यवसायी तथा कर्मचारीहरुलाई पनि रत्ननगरले कोरोना विरुद्धको खोप लगाउने बताए । पर्यटन क्षेत्र सुरक्षित छ भन्ने आभाष दिलाउन चाहन्छौं उनले भने पर्यटन व्यवसायी र कर्मचारीलाई खोप लगाएपछि पर्यटक आगमन संख्या बढ्ने छ । सौराहाका पर्यटन व्यवसायी,कर्मचारी तथा नेचरगाईडहरुका लागि होटल सेभेन स्टार र थारु कल्चर हाउस तथा रत्ननगर उद्योग बाणिज्य संघसंघ आबद्ध व्यवसायीहरुलाई बकुलहर माविमा खोप केन्द्र सञ्चालन गरी खोप लगाइएको छ ।
व्यवसायीहरुले जोन्सन नामक खोप लगाएका हुन । व्यवसायी,सहकारीका कर्मचारी,खानेपानी वितरण कर्मचारी,बीमा,वित्तीय संस्था,इन्स्योरेन्स,नेट,केबुलमा काम गर्ने कर्मचारी,भिजा लागेका विदेश जाने,पशु स्वास्थ्यकर्मीलाई खोप लगाउन सूरु गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।