चितवन । स्काउटको अन्तराष्ट्रिय टोलीले चितवनको लिटिल फ्लावर स्कुलमा विद्यार्थीहरुसँग छलफल गरेको छ । जर्मनीबाट आएको १२ सदस्यीय टोलीले लिटिल फ्लावर स्कुलमै बसेर विद्यार्थीहरुसँग स्काउटको गतिविधिबारे छलफल गरेको हो ।सो कार्यक्रममा दश जोड २ का विद्यार्थीहसँग अन्तरकृया गर्दै स्काउटको टोलीले भविष्यमा उच्च शिक्षा अध्ययनका उपयुक्त कोर्षका बारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराएको छ । विद्यालयका प्राचार्य रोवी का अनुसार जर्मनीको बोन सहरबाट आएको स्काउटको टोलीले स्कुलमा विद्यार्थी तथा शिक्षकहरुसँग स्काउट सहित नेपालको सामाजिक र साँस्कृतिक विविधताका बारेमा छलफल गरेको थियो ।
पाँचदिने बसाईका क्रममा स्काउटको अन्तराष्ट्रिय टोलीले मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ मा स्वास्थ्य शिविर गर्नुका साथै लत्ताकपडा वितरण गरेको छ । सो क्रममा करिव २०० जना स्थानीयहरु लाभान्वीत भएका छन् ।यसैगरी स्काउटको टोलीले चितवनको राप्ती नगरपालिकाको चेपाङ बस्तीमा खाद्यान्न वितरण गरेको छ । चेपाङ बस्तीमा एकसय जनालाई चामल, दाल, तेल र नुन वितरण गरिएको उहाँले बताउनुभयो ।
यसैगरी नेपाल भ्रमणमा रहेको स्काउटको समूह र लिटिल फ्लावर स्कुल नारायणगढका दशजोड २ का विद्यार्थीहरुविच मैत्रीपुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लिटिल फ्लावर स्कुल प्लस २ का विद्यार्थीहरु ४ शुन्य गोल अन्तरले विजयी भएको दशजोड २ का संयोजक कृष्ण ढकालले जानकारी दिनुभयो ।
मैत्रीपुर्ण फुटवल खेल पश्चात खुसी ब्यक्त गर्दै जर्मनीबाट आएको स्काउटको टोलीले लिटिल फ्लावर स्कुलका विद्यार्थीहरुलाइ जर्मनी भ्रमणको लागि निम्ता दिएको छ । जर्मनीको शैक्षिक अवस्था, साँस्कृितक विविधता लगायतका विभिन्न विषयहरुको अध्ययन अवलोकनका लागि दशजोड २ का विद्यार्थीहरुलाइ आमन्त्रण गरेको हो ।