चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठले आफू निर्वाचित भएमा योजना बनाएर विकास निर्माणका काम गर्ने बताउनु भएको छ । सोमबार भरतपुर महानगरपालिका वडा नम्बर ३, बेलचोकमा मतदाताहरुसंँग भेटघाट गर्ने क्रममा राज्यमन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो ।
‘यो क्षेत्रमा मैले चुनाव जितेर काम गर्ने अवसर पाएँ भने योजना बनाएर अगाडि बढ्नेछु’ मतदातालाई सम्बोधन गर्दै उहांँले भन्नुभयो , ‘म सिस्टममा काम गर्ने मान्छे हो । मलाई अवसर दिनुस ।’ चुनावी अभियानका क्रममा आफू इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको विभिन्न क्षेत्रमा पुगेको जानकारी गराउँदै श्रेष्ठले भन्नुभयो , ‘यो क्षेत्रमा आएर मैले केही काम गर्न सक्ने सम्भावना देखेको छु । मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु ।‘
नेपाल विकासका हरेक सम्भावना नै सम्भावना बोकेको देश भएर पनि गरिब हुनुको कारण नीति कमजोर भएको उहांँको भनाइ थियो । उहांँले भन्नुभयो , ‘सम्भावना नै सम्भावना बोकेको देश भएर पनि हामी गरिब भयौँ नीति कमजोर भएको कारण । शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, प्राकृतिक स्रोतसाधन, ऊर्जा र जडीबुटीको क्षेत्रमा धेरै काम गर्न सकिन्छ ।’
त्रिशुली, नारायणी र राप्ती नदीको उपयोग गरेर पर्यटनको विकास गरी विदेशी मुद्रा आर्जन गर्न सकिने श्रेष्ठको भनाइ छ । ‘राम्रोसँग उपयोग गर्ने हो भने नदी वरदान हो । म नदीलाई उपयोग गरेर पर्यटनको विकास गर्न चाहन्छु’ उहांँले भन्नुभयो , ‘म जीवनभर शिक्षामा काम गरेको मान्छे हुँ । म गाउँको मान्छे हुँ । म भोजपुरको मान्छे हुँ । युवाहरुलाई गरिखाने बनाउनु पर्छ भन्ने अभियानको म अभियन्ता हुँ ।’