चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा भोलि (शुक्रबार) देखि हुने भनिएको प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप फुटबल चार दिन पछि धकेलिएको छ ।
बुधवारदेखिको अबिरल वर्षाका कारण पिप्ले युवा समाजद्धारा आयोजित मुख्यमन्त्री कप फुटबल असोज २५ गतेदेखि मात्रै सुरु हुने भएको हो । वर्षाको कारण मैदानमा पानी जमेकोले प्रतियोगिता चार दिन पछाडि धकेलिएको संयोजक चिरञ्जिवी पाठकले जानकारी दिए।
प्रतियोगिताको बागमती प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उद्घाटन गर्नेछन् । उद्घाटन खेलमा बसन्तपुर युनाइटेड माडी र सहलेश क्लब सिराहा भिड्नेछन् । यस अघि २१ गते उद्घाटन खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब र निजगढ युथ क्लब बारा भिड्ने तालिका थियो । तर मिति सरेसँगै २५ गते अघिको तालिकामा केही फेरबदल भएको हो । जस अनुसार २१, २२, २३, र २४ गतेको खेल अब क्रमश: २९,३०, ३१ र १ गते हुनेछ ।
असोज २५ देखि कार्तिक ५ गतेसम्म प्री क्वाटरफाइनल र क्वाटरफाइनल चरणका खेलहरु हुनेछ । सेमिफाइनल खेलहरु ११ गतेदेखि सुरु हुनेछ । ६ देखि १० गतेसम्म तिहार परेकोले चार दिन खेल नहुने उनले बताए । फाइनल खेल १४ गत हुने पाठकले बताए ।
प्रतियोगितामा बागमती प्रदेशसँगै गण्डकी र मधेश प्रदेशका १६ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार प्राप्त गर्ने पाठकले बताए ।
दर्शकका लागि दुई हजार क्षमताको अस्थाई प्याराफिट निर्माण गरिएको छ । क्वाटर फाइनलसम्मको खेलका ३० रुपैयाँको टिकट तथा सेमिफाइनल र फाइनलका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उनले बताए । पाठकका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि २४ हजार ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकम राप्तीमा स्पोर्टस एकेडेमी बनाउनका लागि खर्च गर्ने आयोजकको योजना छ ।