चितवन । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले घुमफिर वर्ष २०७९–८० शुरु गर्ने भएको छ । प्रदेशका १३ वटै जिल्लाका पर्यटन गन्तव्यको प्रर्वद्धन गर्न घुमफिर बर्ष शुरु गर्न लागेको हो । यसका लागि यी सबै जिल्लाका पर्यटकीय क्षेत्रलाई सामाजिक, सांस्कृतिक, धार्मिक , पर्यापर्यटनको रुपमा विभाजन गरि प्रचार प्रसार गरिने मन्त्रालयले जनाएको छ ।
घुमफिर वर्षको चितवनको सौराहामा एक भव्य समारोहका बीच असोज ११ गते उद्घाटन गरिने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो । घुमफिर वर्षको बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
कोभिडका कारण शिथिल भएको पर्यटन क्षेत्रलाई उकास्ने उद्धेश्यसहित ०७९–८० लाई घुमफिर वर्षको रुपमा मनाउन लागिएको संस्कृति तथा पर्यटन मन्त्रालयका संस्कृति पर्यापर्यटन तथा वातावरण शाखा प्रमुख उत्तम चापागाईले जानकारी दिनुभयो ।
उहांँका अनुसार यसका लागि मन्त्रालयले पर्यटन व्यवसायी , स्थानीय निकाय, हवाईउडान कम्पनी ,शैक्षिक संस्था लगायतका सरोकारवाला संस्थासंँग समन्वय र सहकार्य गरिएको छ । ‘वाग्मती प्रदेशको मुख्य पर्यटन क्षेत्र सौराहो हो , उहांँले भन्नुभयो, घुमफिर बर्षको अभियान पनि यहींबाट शुरु गर्न लागेका हौं तर सबै जिल्लाको पर्यटकीय क्षेत्रको हामीले प्रर्वद्धन गर्दैछौं ।’ यसका लागि बर्षभरिमा झण्डै४० वटा कार्यक्रम राखिएको उहांँको भनाई छ ।
यसका लागि मन्त्रालयबाट १ करोड बजेट निकासा भएको र अन्य खर्चको लागि पर्यटन व्यवसायीसंँग समन्वय गरिने चापागाईंले बताउनु भयो । विगत केही बर्षदेखि पर्यटन प्रर्वद्धन र आकर्षणका लागि कुनैपनि गतिविधि नगरेकाले यसबर्र्ष घुमफिर बर्षको रुपमा मनाउन लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि छुट प्याकेज , नयांँ गन्तव्यको पहिचान , ट्राभल प्याकेज साथै थप नयांंँ पर्यटकीय गतिविधि गरिने उहांँले बताउनु भयो ।
घुमफिर वर्षको सुरुवातसँगै पर्यटन प्रवर्द्धनका लागि सौराहामा सूचना एवं सम्पर्क कार्यालय स्थापनाको कार्यालय राखिने समेत उहांँले बताउनुभयो । यसले बागमती प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
गत भाद्र १६ गते बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले २०७९,८० लाई घुमफिर वर्षको रुपमा मनाउने निर्णय गरेसंँगै घुमफिर बर्षको सार्वजनिक गरिएको हो ।