चितवन । उद्योगी व्यवसायीहरुले पछिल्लो समय देशमा भएको तरलता अभाव र बैंकको व्याजमा अस्वभाविक बृद्धिले उद्योगी व्यवसायी पलायन बन्दै गईरहेको बताएका छन । चितवन उद्योग संघको ३१ औं साधारण सभामा बोल्दै उनीहरुले राज्यले उद्योगी मैत्री नीति नल्याएका कारण आफूहरु थप पीडामा परेको गुनासो गरे । कच्चापदार्थमा कर बृद्धि, आयात प्रतिस्थापनमा देखाएको उदासीनताका कारण आफ्ना जायजेथानै डुब्न लागेको उनीहरुको भनाई थियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले बैंकको तरलता अभाव, ब्याज बृद्धि र आर्थिक मन्दीले उद्योगहरु विस्थापित हुंँदै गएको बताए ।
‘बिगत ३ वर्ष देखिको तरलता र अहिले भएको व्याजदर बृद्धिले उद्योगी पलायन हुने स्थिति आएको छ । जसले गर्दा नेपालका उद्योगहरु धरासायी बन्दै गएका छन् । हामी यही कारणले डुब्यौं । अग्रवालले भने,
७ प्रतिशतमा रहेको ब्याजदर अहिले बढेर १४ प्रतिशतमा पुगेको बताउँदै उनले यस बिषयमा सरकार गम्भिर नभएको बताए । तरलताका कारण व्यवसायीहरु असामान्य र अस्थिर मनस्थितिमा पुगेको उनको भनाई थियो । यस बिषयमा आँफुहरुले प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरसंग समेत कुरा गर्दा निकास नदिएको उनको गुनासो थियो ।
नेपालका उद्योगहरुले आयात प्रतिस्थापन गर्न सक्ने गरि उत्पादन गर्नसक्ने भन्दै उनले कच्चापदार्थमा कर घटाउनुपर्ने माग गरे । ‘निर्यातलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु आजको आबश्यकता हो ।’आयातलाई प्रतिस्थापन गर्नका लागि उद्योग खोल्न प्रोत्साहन गरी उत्पादन बृद्धि गर्नुुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले देशमा यही अवस्था रहे आर्थिक संकट आउन सक्ने बताउनुभयो । बयाज बढ्ने र लगानी गर्ने पैसा पाउन कठिन हुने हुँदा आर्थिक संकटको स्थिति आउने उनको भनाई थियो । उनले भने ‘राज्यले उद्योगीहरुको सम्मान गर्न नसक्दा यस्तो समस्या आउने खतरा बढेको छ ।’ अहिलेको अवस्थामा उद्योगी व्यवसायीहरुलाई सम्मान र सम्बोधन गर्न नसके देशनै संकटमा पर्ने उनको भनाई थियो ।
सरकारले उद्योगी व्यवसायीको समस्यालाई नबुझे सबै नीजि क्षेत्र एकजुट भएर संर्घषमा उत्रिनु पर्ने उनले बताए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश अध्यक्ष तारानाथ चौलागाई, नेपाल उद्योग परिसंघ बागमती प्रदेश उपाध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका अध्यक्ष चुननारायण श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, उद्योग संघ चितवनका गर्भनरका अध्यक्ष दिवाकर खरेल लगायतले आर्थिक संकटको बेला झनै उद्योगी व्यवसायीलाई विस्थापित गर्ने नीति ल्याएको भन्दै गुनासो व्यक्त गरेका थिए । एकातिर लगानी गर्न नपाएको र अर्कोतिर व्याजमा निरन्तर बृद्धि भएको कारण र अधिकांश कर्जा ठूला व्यवसायीले लगेकोले यस्तो अवस्था आएको उनीहरुको भनाई थियो ।
उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।