चितवन । यही मंसीर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट चन्द्रविलास अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरी अधिकारीले चितवन ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले जुनसुकै ठूला पार्टीका शिर्षस्थ नेता आएपनि आफू पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । पाका र पुराना नेताहरुले हालसम्म देशको लागि केही पनि गर्न नसकेको भन्दै अब युवा नेतृत्वले सरकार चलाउन अपरिहार्य रहेको बताए ।
कार्यक्रममा उनले १० बुँदे एजेन्डा सहित आफ्नो उम्मेदवारी घोषणा सार्वजनिक गरेका छन । अधिकारीले पार्टीहरुको सिन्डिकेट तोडेर युवाहरुलाई नेतृत्वमा ल्याउन आफु चुनावी मैदानमा होमिएको बताए । सरकारी शैक्षिक क्षेत्रको शैक्षिक गुणस्तर वृद्धि गरि हरेक नागरिकको पहुँचमा निःशुल्क गुणस्तरीय शिक्षा पु¥याउन ,सरकारी स्वास्थ्य केन्द्र तथा अस्पतालको स्तरोन्नति गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, दिगो बिकास निर्माण गर्ने, पार्टीगत गुटबन्दी अन्त्य, दक्ष जनशक्ति उत्पादन, नीति नियममा सुधार, एक जिल्ला एक मेघा कृषि फार्म, कृषिमा आधुनिकीकरण गरि उत्पादन वृद्धि, सरकारी कार्यालयको आर्थिक कारोबारमा डिजिटलाइजेशनलगायत आफ्नो चुनावी एजेन्डामा समावेश गरेका छन । यी मध्ये पनि उनले कृषिलाई आधुनिकीकरण , यान्त्रिकिकरण उत्पादनमुखी बनाउने बिषयलाई बढी प्राथमिकता दिएको बताए ।
उनले अब वडादेखि प्रतिनिधि सभासम्म स्वतन्त्र उम्मेदवारहरु आउन जरुरी रहेको बताए । आफूले चर्चामा आउन प्रचण्डको क्षेत्रबाट उम्मेदवारी दिन नलागेको भन्दै उनले आफ्नो कर्मक्षेत्र र बसाई पनि सोही क्षेत्रमा जाने तयारी गरेकोले पनि क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिन लागेको बताए । अधिकारी हाल भरतपुर महानगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा हुन् । उनी एक दशकदेखि रेष्टुरेन्ट तथा शैक्षिक परामर्शको क्षेत्रीय सक्रिय रहंँदै आएका छन ।