चितवन – त्रिभुवन आर्मी फुटबल क्लब नारायणगढको क्याम्पाचौरमा जारी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (बिहीबार) सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा नव जन जागृति युवा क्लब सिमरालाई ३-२ ले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीको जितमा कप्तान जर्ज प्रिन्स कार्की, बिमल पाण्डे र सुदील राईले गोल गरे । सिमराका सुरेश कुमाल र अनिश चौधरीले गोल फर्काए ।
आर्मीले खेलको १६ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीको गोलबाट अग्रता लिएको थियो । २२ औं मिनेटमा सिमराका सुरेशले बराबरी गोल फर्काए । २६ औं मिनेटमा बिमलले गोल गरेपछि पहिलो हाफमा आर्मीले २-१ को अग्रता लियो ।
दोस्रो हाफको सातौं मिनेटमा सुदीलले गोल गर्दै आर्मीको अग्रता लम्बाए । दोस्रो हाफको १९ औं मिनेटमा सिमराले पेनाल्टी पायो । आर्मीका खेलाडीले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले सिमरालाई पेनाल्टी दिए । प्राप्त अवसरलाई सदुपयोग गर्दै अनिशले गोल गरे पनि हार टार्न सकेनन् । आर्मीका कप्तान जर्ज प्रिन्स म्यान अफ दि म्याच भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
यससँगै सेमिफाइनल पुग्ने सबै चारै टोलीको टुङ्गो लागेको छ । आजको विजेता आर्मीसँगै मनाङ एफसी, एभिनर एफसी र सशस्त्र प्रहरी बल (एपिएफ) एफसी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फाइनल प्रवेशका लागि शुक्रबार मनाङ र एपिएफ तथा शनिबार आर्मी र एभिनर भिड्नेछन् । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप असोज ३ गतेसम्म चल्नेछ । गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।