चितवन । चितवनमा भाद्र २५ गतेदेखि सर्वाधिक धनराशीको इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल हुने भएको छ । नारायणगढको क्याम्पा चौरमा हुने गोल्डकप असोज ३ गतेसम्म चल्नेछ ।
आयोजक भरतपुर फुटबल क्लबले आज (सोमबार) पत्रकार सम्मेलनमार्फत गोल्डकप बारे जानकारी दिएको हो । आयोजकका अनुसार गोल्डकप तयारी अन्तिम चरणमा पुगेको छ ।
गोल्डकप संयोजक धुर्व भुसालले क्याम्पाचौर व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
यस्तै दर्शकका लागि चार हजार क्षमताको अस्थाई प्याराफिट निर्माण भइरहेको उनले बताए ।
गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् । त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) मनाङ एफसी, भरतपुर फुटबल क्लब, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जन जागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र मोतिहारी एफसी भिड्नेछन् । गोल्डकप विजेताले उपाधिसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । दर्शकका लागि सेमिफाइनलसम्म एक सय र सेमिफाइनल र फाइनलका लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
गोल्डकपलाई मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित गर्ने रहेको संयोजक भुसालले बताए । ‘यसलाई मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित गर्ने लक्ष्य छ । हामी त्यही अनुसार अघि बढीरहेका छौं’, भुसालले भने ।
पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ठूलो लगानीमा स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको बिषय भएको बताए । उनले चितवनको फुटबलले बिकासको गति लिएको बताए ।
यस्तै ग्रासरुटदेखि नै फुटबलमा लगानी गर्न सके क्षमतावान खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो । फुटबल संघ अहिले जिल्लाका सातै पालिकामा ट्रेनिङ सेन्टर स्थापनाको योजना रहेको अध्यक्ष कार्कीले बताए ।
भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले स्वास्थ्यका लागि खेलकुद राज्यका लागि खेलकुद भन्ने मुल नारालाई अंगीकार गर्दै जिल्लामा खेलकुदको विकास हुनुपर्नेमा जोड दिए । खेलबाट पनि राज्यलाई योगदान दिन सक्ने भन्दै राज्यले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । प्रतियोगिताको सफलताको कामना गरे । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक इसुजु नेपाल चितवनका प्रवन्ध निर्देशक ईश्वरकुमार श्रेष्ठ, चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकाललगायत पनि सहभागी थिए ।