चितवन । भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको निर्वाचन स्थगित भएको छ । कोरोना भाईरसका बिरामीको संख्या बढ्दै गएपछि आज(शुक्रवार)हुने भनेको निर्वाचन स्थगित भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर अस्पताललाई निर्वाचन रोक्न अनुरोध गरेको थियो । प्रशासनको आदेश आएपछि भरतपुर अस्पतालले अन्तिम समयमा आएर निर्वाचन स्थगित गराएको हो । निर्वाचनका लागि आज ११ देखि ४ बजेसम्मको समय तोकिएको थियो ।
भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनमा ३ सय ३५ जना सदस्य रहेका छन् । आज तोकिएको निर्वाचनमा साउन १३ गते नै उमेद्वारले मनोनयन दर्ता गराएका थिए । समितिमा पाँच पदाधिकारी सहित ९ सदस्य हुने व्यवस्था छ । अध्यक्ष पदका लागि तीन जनाले उमेद्वारी दिएका थिए । हालका उपाध्यक्ष कृष्णप्रसाद शर्मा, विष्णु बास्तोला र डा. दामोदर तिवारीले अध्यक्ष पदका लागि उमेद्वारी दिनुभएको थियो । त्यस्तै उपाध्यक्षमा डा.दिपेन्द्र न्यौपाने र सचिवमा शिव शर्माको एकल उमेद्वारी परेको थियो । कोषाध्यक्षमा डा. प्रतिक न्यौपाने र अस्मिता ज्ञवाली, सह–सचिव पदका लागि उत्तम पौडेल, राजनबाबू तिवारी र शर्मिला ढकालले उमेद्वारी दिएका थिए । त्यस्तै सदस्य पदका लागि अनुजा खनाल, रमा रिजाल, तलसी थापा, रमाकुमारी लामिछाने, ज्ञानबहादुर भण्डारी, बुद्धलाल गुरुङ, इरिना प्रधान र गौरी शर्माको उमेद्वारी परेको थियो ।
भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको विधान अनुसार, एक कार्याकाल दुई बर्ष रहने व्यवस्था छ । यूनियनको नियम अनुसार, असार १ गते भित्र नै निर्वाचन हुनेपर्ने थियो । तर, कोरोना महामारीका कारण साउन सारिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति निर्वाचन गराउने संस्थाका उपाध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार, निर्वाचन नहुँदा सम्म यही कार्यसमितिले काम गर्नेछ । यसअघि दिएका उमेद्वारको विषयमा भोलि बस्ने निर्वाचन समिति, हालको कार्यसमिति र पुर्व अध्यक्षको बैठकले अबको भावि कार्ययोजना प्रस्तुत गर्ने शर्माले जानकारी दिए ।