चितवन । पछिल्लो अध्ययन अनुसार काठमाडौं पछि व्यापार व्यवसायको दोस्रो ठूलो र बढी कारोबार गर्ने जिल्लाको रुपमा परिचित भईरहेका बेला भरतपुर १८ करोड लगानीमा बेकरी उद्योग सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २४ अमृतनगरमा ७ जनाको लगानीमा अत्याधुनिक प्रविधि सहितको नारायणी बेकरी एण्ड फुड ईन्डष्ट्रीजसञ्चालनमा ल्याइएको हो । यो उद्योगको २०७५ साल फागुनदेखि निर्माण थालिए पनि गत बर्षदेखि बेकरी उत्पादन थालेको हो ।
उद्योगका निर्देशक सुनिल ध्वजुले पहिलोचरणमा क्षमताको १० प्रतिशत उत्पादन गरेर बजारीकरणको अवस्था अध्ययन गरिएको बताए । हाल उद्योगको क्षमता दैनिक ६ टन रहेको छ । उनले खाद्य सम्बन्धि ऐन र मापदण्ड अनुसार उद्योगले बेकरी उत्पादन गरिरहेको बताए ।
यो वर्ष ४५ प्रकारका बेकरी उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको छ । उद्योगले चकलेट, काजुबदाम, बटर, जिरा अज्वाइन कुकिजहरु, ब्राउन, मिल्क, स्याण्डविच, स्वीट ब्रेडहरु, बर्गर वन, सफ्ट, क्रिमरोल, क्रान्ची रोल्सहरु, मफिनहरु उत्पादन गरेको छ ।
८ महिनामै चितवन, नवलपुर, भैरहवा, पोखरा, गोर्खा, वीरगञ्जसम्म उत्पादनहरु बिक्रि वितरण गर्दै आएको उनको भनाई छ । देशव्यापी बजारीकरणका लागि यो वर्ष उत्पादनको ब्राण्डिङमा लागिने कम्पनीको योजना छ । एन बेकरी ब्राण्डमा उद्योगले उत्पादित बेकरीको बजारीकरण गरिरहेको छ । शुद्ध तथा गुणस्तरीय उत्पादन भएकाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन नभएको ध्वजुको भनाई छ । दैनिक रुपमा बेकरीको माग बढेसंँगै उतपादन पनि बढाईएको छ । गुणस्तरीय स्वदेशी उत्पादनलाई उपभोक्ताले रोजाई रहने उनको अपेक्षा छ ।
उद्योगका डिजिटल मार्केटिङका प्रतिनिधि अभिषेक पोखरेल बेकरीहरु ७ दिनदेखि १ वर्षसम्म उपभोग गर्न मिल्ने गरी उत्पादन गरिएको रहेको बताउंँछन । गहुँ, कोदो, फापर, जौबाट बनेका बेकरीहरु रहेकाले स्वास्थ्यवर्दक रहेको पोखरेलको भनाई छ । चितवनमा हाल ३ दर्जन बढी साना ठुला बेकरी उद्योगहरु सञ्चालनमा छन् । नारायणी बेकरी सबैभन्दा धेरै लगानी भएको उद्योगका रुपमा रहेको बेकरी मध्ये पर्दछ ।