चितवन । चितवन विद्यालय स्तरीय प्रथम सनराईज सितोरियो कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरिया कराँते संघ चितवन र सनराईज इङ्गलिस स्कुलको संयुक्त आयोजनामा हुने प्रतियोगिता भदौ ३ र ४ गते चल्नेछ ।
प्रतियोगिताको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्ने आज (बुधबार) स्कुलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । प्रतियोगिताको खेलहरु सनराईज स्कुलमा हुनेछ ।
प्रतियोगितामा चितवन जिल्लाभरबाट ३० विद्यालयका दुई सय भन्दा बढी खेलाडी सहभागी हुने संयोजक एवं स्कुलका कराँते प्रशिक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै ६० केजी माथि खुल्ला प्रतिस्पर्धा हुने संयोजक श्रेष्ठले बताए ।
महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने ५५ केजीमाथि खुल्ला प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुष र महिला एकल कातामा पनि प्रतिस्पर्धा हुने उनले बताए ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा सबै भन्दा धेरै पदक जितेर प्रथम हुने विद्यालयले ३० हजार रुपैयाँ बराबरको कराँतेका लागि आवश्यक खेल सामाग्री प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने विद्यालयले २५ हजार रुपैयाँ बराबरको खेल सामाग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरिएको छ ।
सितोरिया कराँते संघ चितवनका अध्यक्ष एवं बागमती प्रदेश सितोरिया कराँते प्रमुख गगन लामाले चितवनमा पहिलो पटक यस किसिमको विद्यालय स्तरीय सितोरिया कराँते हुन लागेको बताए । उनले प्राविधिक तथा विविध कारणले यस अघि यस्ता प्रतियोगिता आयोजना हुन नसकेको बताए ।
उनले यस प्रतियोगितासँगै चितवनको कराँतेले गति लिने विश्वास व्यक्त गरे । चितवनमा अहिले एक हजार भन्दा बढी खेलाडीले नियमित रुपमा कराँते प्रशिक्षण गर्ने गरेको उनले बताए । यस प्रतियोगिताले ति खेलाडीहरुलाई राष्ट्रियस्तरको प्रतियोगिताका लागि तयारी गर्न पनि मद्धत मिल्ने उनको विश्वास छ ।
स्कुलका प्रधानाध्यापक शिव कुमार बगालेले खेलकुद शिक्षाको एक अभिन्न अंग भएको बताए । उनले स्कुलले विद्यार्थीहरुलाई आफ्नो रुची अनुसारको खेलमा लाग्न सधैं प्रेरित गर्ने बताए । पत्रकार सम्मेलनमा कराँतेका पूर्व राष्ट्रिय खेलाडी राजन कार्की, प्रतियोगिताको प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाईबी), प्रशिक्षक तथा खेलाडीहरु सहभागी थिए ।