चितवन । पश्चिम चितवन पत्रकार मञ्चले यही साउन २८ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । मेडिकल सिटीको रुपमा विकसित चितवनमा रकत अभाव कम गर्ने उद्धेश्यसहित खुल्ला रक्तदान गर्ने भएको हो । शनिबार मञ्चको चनौलीमा बसेको बैठकले यही साउन २८ गते रामपुर बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अपिल घिमिरेले जानकारी दिए ।
चितवनमा बर्षा र गर्मीका कारण रगतको माग बढेको र रगत संकलन कम भएकोले मञ्चले सो काम गर्न लागेको हो । रगत अभाव भएपछि चितवनमा हाल बाहिरी जिल्ला बाट रगत ल्याउनु पर्ने बाध्यता भएको र यसलाई कम गराउन पनि रक्तदानको कार्यक्रम राखिएको घिमिरेको भनाई छ ।
यस्तै बैठकले आउँदै गरेको हरितालिका तिजको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । भदौ ११ गते चितवनका महिला पत्रकार र भरतपुर २८ का दलित, जनजाति, आदिवासी संस्थाका नेतृत्वमा रहेका अगुवा महिला र सो वडाका महिला जन प्रतिनिधि संग तीज पर्वको महत्व विषयमा अन्तरक्रिया तथा दरखाने कार्यक्रम आयोजना गर्न लागेको मञ्चको महिला सशक्तिकरण उपसमितिकी सविता अधिकारीले जानकारी दिईन् ।
मञ्च मार्फत पश्चिम चितवनको पत्रकारिताको ईतिहास समेटिएको पुस्तक प्रकाशनको पनि तयारी गरिएको छ । प्रतिवेदन लेखन उपसमितिका संयोजक रामशरण गैरेका अनुसार मञ्चमार्फत अहिले पुराना पत्रकारको खोजी र इतिहास खोजीको काम हुँदैछ ।
यस्तै पश्चिम चितवन पत्रकार मञ्चले सदस्य बन्ने चाहना भएकाहरुका पत्रकारहरुका लागि सदस्यता पनि खुलाएको छ । पश्चिम चितवन घर भएका वा पश्चिम चितवनमा रहेका मिडियामा काम गरेका पत्रकारहरुले मञ्चको सदस्य बन्न पाउँने छन् । पश्चिम चितवनका पत्रकारहरु एकता र क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले केही समय स्थापना गरिएको पश्चिम चितवनका पत्रकारहरुको यो साझा संस्था हो ।