मकवानपुर । नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा आगामी शुक्रबार र शनिबार हुने भनिएको राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको स्थानीय समन्वय समितिका संयोजक एवम् युनियनका केन्द्रीय सदस्य राममणि दाहालले जानकारी दिनुभयो ।
बुधबार केन्द्रीय अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष ईश्वरी ओझा कार्यवाहक महासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी(पोष्टराज) लगायतको उपस्थितिमा बसेको बैठकले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
महाधिवेशनमा संघीय संरचना अनुरुप विधान संशोधनसहित निर्वाचन कार्यक्रम समेत रहेको छ ।
देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहने महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने युनियन मकवानपुरका अध्यक्ष अधिकारीले बताउनुभयो ।
महाधिवेशन उद्घाटन पूर्व हेटौँडामा शुक्रबार बिहान प्रभातफेरी कार्यक्रम आयोजना हुने अधिकारीले जानकारी दिनुभयो ।