काठमाडौं ।आजदेखि चार वर्षे कार्यकाल पूरा गर्नुभएका राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ को बिदाइ गरिएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित बिदाइ कार्यक्रममा अध्यक्ष अधिकारीले राससलाई स्वायत्त संस्थाका रूपमा विकास गरेर समाचार सेवामा अब्बल संस्था तुल्याउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राससमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन । सरकारले यसलाई बजेट र अधिकार बढाएर स्वायत्त संस्था बनाउन सक्ने हो भने गुणस्तरीय समाचार उत्पादनमा बल पुग्नेछ ।” अधिकारीले आफूले इमान्दारपूर्वक रासस रूपान्तरणको योजनासहित काम गरे पनि राजनीतिक प्रभावका कारणले पर्याप्त काम गर्न नसकिएको तथा राससका ऐन, विनियमावली समय र आमकर्मचारी अनुकूल बनाउन नसकेको बताउनुभयो । उहाँले आफूलाई नियुक्त गर्ने तत्कालीन सरकारका मन्त्री र त्यसपछिका मन्त्री र सचिवहरुलाई धन्यवाद दिनुभयो ।
राससका महाप्रबन्धक सिद्धराज राईले अध्यक्ष अधिकारीले कार्यकाल पूरा गरेकामा धन्यवाद व्यक्त गर्दै अधिकारीमा भएको बौद्धिक व्यक्तित्वबाट भोलिका दिनमा पनि सिक्न सकिने बताउनुभयो । राससका प्रशासन शाखा प्रमुख शीतल महतोले अध्यक्ष अधिकारीलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा धन्यवाद व्यक्त गर्नुभएको थियो । विसं २०७५ जेठ ३१ गते नेपाल सरकारबाट नियुक्त हुनुभएका अध्यक्ष श्यामलले २०७५ असार ३ गते राससमा पदबहाली गर्नुभएको थियो ।