चितवन । देशभर स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । मुलुक निर्वाचनमय भएसंँगै स्थानीय तह निर्वाचनमा चितवनको कालिका नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवराम केसी प्रमुखका उम्मेदवार बनेका छन् ।
लामो राजनीतिक पृष्टभूमि बोकेको परिवारका केसीलाई मेयरको बलियो उम्मेदवारको रुपमा हेरिएको छ । व्यवसायीको रुपमा समेत लामो अनुभव संगालेका केसी सामाजिक कार्यका लागि पनि उत्तिकै परिचित छन् । उनी कालिकाको मुहार फेर्नका लागि चुनावमा होमिएका छन् । यसै सन्दर्भमा निर्वाचनको सेरोफेरोमा रहेर केसीसँग गरिएको कुराकानीको सम्पादित अंश ः
कालिकाको मेयरमा तपाईको उम्मेदवारी किन ?
अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन । जनताले रोजगार पाएको अवस्था छैन । रोजगारी सृजना गरेर जनताको अवस्था परिवर्तनका लागि म मेयरको पदको उम्मेदवार बनेको हुँ । कालिकालाई नमूना नगर बनाउन गठबन्धनबाट मेयरका लागि अघि बढेको हुँ । मैले जितेको खण्डमा कालिकाको मुहार फेर्ने अभियानमा लाग्नेछु ।
तपाईका एजेन्डा के–के हुन् ?
अहिले देशको सबै भन्दा ठूलो रोग र मुद्धा भनेकै भ्रष्टाचार हो । भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अपनाएर अघि बढ्ने प्रतिवद्धता जनता माझ राखेर हामी अघि बढेका छौं । सिद्धीमा ७५ प्रतिशत भन्दा बढी चेपाङहरुको बसोबास छ । यो ठाउँमा जनतालाई स्वरोजगार बनाउन कृषि नै सबैभन्दा ठूलो आधार हो । कृषिबाट नै उहाँहरुलाई रोजगार बनाउन सकिन्छ ।
यस्तै कालिकालाई पर्यटनसँग जोडेर पनि अगाडि बढाउन सकिन्छ । यहाँका भूमिहिन, सुकुमबासीहरुसँग लालपूर्जा छैन । जो पनि आउँछन् आश मात्रै देखाउने गरेका छन् । आशै मरिसक्यो । यो बिषयलाई पहिलो प्राथमिकता दिएर समाधान गर्न म अघि बढ्छु । सबैले सुकुमबासीलाई लालपूर्जाको आशा मात्रै देखाए, तर म काम गरेरै देखाउछु । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन आउनु भएको मौकामा मलाई उहांँले यो मुद्धा सम्बोधन गर्नुपर्छ भन्नु भएको छ । उहाँले लेखेर ल्याउनु म गर्छु भन्नु भएको छ । राज्यमन्त्री उमेश श्रेष्ठसँग पनि यो कुरा राखेको छु । धेरै ठूला एजेन्डाहरु लिएको छैन । तर जनहितमा हुने कामहरु गर्छु ।
कालिकामा तपाईले जित्ने आधार के हो ?
पहिलो कुरा म केही पनि कुरालाई नकारात्मक तरीकाले हेर्दिन । सबै कुरालाई सकारात्मक तरिकाले हेर्छु । यो स्थानीय ठाउँको राजनीति हो । बाउ, बाजेले के गरेका छन् भनेर पनि हेर्छन् । यो ठाउँमा बाटो घाटो र पूर्वाधार विकास र जुटपानीमा बिजुली ल्याउने मेरो काका हुनुहुन्छ । पहिल्यैदेखि विकास निर्माणमा हिँडेको हाम्रो परिवार हो । यहाँका जनताले हामीलाई हेर्ने दृष्टिकोण पनि फरक छ । अरुसंँग तुलना गर्न पनि मिल्दैन ।
म राजनीति मात्रै सबै कुरा होइन भनेर समाजमा बस्दा राम्रो काम गर्न, एउटा ईट्टा भए पनि थप्न पाए हुन्थ्यो भन्ने व्यक्ति हुँ । समाजलाई सुन्दर बनाउन पर्छ भनेर सक्रिय भएर लाग्ने मान्छु हुँ म । पर्दा खेरी यसले गर्न सक्छ भन्ने नगरबासीलाई पूर्ण विश्वास छ । यस्ता धेरै आधार छन् र म विजयी हुन्छु भन्ने भन्ने पूर्ण भरोसा छ ।
उम्मेदवारहरु चुनावको बेला मात्र हात जोड्दै घर–घर आउँछन् । अरु बेला वास्ता गर्दैनन् भन्ने मतदाताको गुनासो छ । तपाई विजयी भएपछि त्यस्तो समस्या देखिदैन भनेर जनताले कसरी विश्वास गर्ने ?
हो यही सिस्टम बनाउनका लागि म उम्मेदवार बनेको हुँ । सिस्टम बनाउन प¥यो । नगरपालिकामा महिनामा एक चोटी जनताको गुनासो सुन्ने सिस्टमको विकास गर्छु । यती गते नगरपालिकामा जनताको गुनासो सुन्न मेयर बस्छन् भन्ने सिस्टमको विकास गर्छु । त्यो दिन मेयर आँफै उपस्थित भएर जनताको गुनासो सुन्छन् है भन्ने सिस्टमको विकास हुन्छ ।
सबै जनाको घरमा पुगेर गुनासो सुन्न भ्याईदैन, काम पनि हुँदैन । तर हरेक महिना नगरपालिकामा नै जनताको गुनासो सुनेर कहाँ के गर्न पर्ने हो त्यही अनुसार अघि बढ्छु । जनतासँग जोडिने कुरामा कुनै कञ्जुस्याई गर्ने छैन । जनताको आवश्यकता अनुसार नै काम गर्ने हो ।
मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
सबैबाट राम्रो , सकारात्मक प्रतिक्रिया पाइरहेको छु । सबैले तपाई गर्ने खाले मान्छे हो, हामी सहयोग गर्छौं भन्नुहुन्छ । तपाईहरु जुनसुकै पार्टीमा भए पनि तपाईलाई सहयोग गर्छु भन्नु हुन्छ । मेरो पक्षमा जनलहर राम्रै पाएको छु ।
अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?
अहिलेको यो स्थानीय तहको निर्वाचन हो । आफ्नो क्षेत्रको उम्मेदवारहरु को —कससँग प्रतिस्पर्धा गर्दैछन् भनेर आँफैले मुल्याङ्कन गर्नुहोस् । उम्मेदवारलाई नियालेर हेर्नुहोस्, भविष्यमा आशा जगाउन नसक्ने मान्छेलाई त्यही अनुसार मुल्याङ्कन गर्नुहोस् । म सबै मतदातासम्म पुग्न सकिन होला तर मेरो प्रमुख एजेन्डा भनेकै भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु हो । कसैलाई भेदभाव नगरि समान रुपले सेवा दिनेछु । यो अवसर दिनुहुनेछ भन्ने विश्वास छ र मत दिन पनि आग्रह गर्छु ।